भद्रपुर: भूकम्पपछि पुनर्निर्माण गरिएको धरहरा सर्वसाधारणका लागि खुला गरिएको छ। २०१५ फरबरीको विनाशकारी भूकम्पले ढलेको धरहराको छेउमा उस्तै धरहरा बनेपछि संविधान दिवसको अवसर पारेर सरकारले सार्वसाधारणलाई पनि प्रवेश खुला गरेको छ।
गत सेप्टेम्बर १२मा बसेको मन्त्रिपरिषद् बैठकले संविधान दिवसको अवसर पारेर धरहरा खुला गर्ने निर्णय गरेको थियो। सोही अनुसार तत्कालका लागि निःशुल्क रुपमा धरहरामा प्रवेश गर्न पाउने व्यवस्था मिलाइएको छ। शहरी विकास मन्त्रालयअन्तर्गत शहरी विकास तथा भवन निर्माण विभागको व्यवस्थापनमा सर्वसाधारणले धराहराको अवलोकन गर्न पाउनेछन्। तत्कालका लागि निःशुल्क धरहरा अवलोकन गर्न पाउने व्यवस्था गरिएको शहरी विकास तथा भवन निर्माण विभागका अधिकृत वीरसिंह भण्डारीले जानकारी दिए । उनले धरहरा हेर्नेहरूको घुइँचो लागेकाले व्यवस्थापनको काममा चाप परेको पनि बताए । धरहरा हेर्न जानका लागि आफ्नो परिचय खुल्ने नागरिकता, मतदाता परिचय पत्र, चालक अनुमति पत्र, राहदानीको फोटोकपी मात्रै भएपनि हुनेछ।
‘धराहरा घुम्नका लागि कागजातहरू नबोके पनि हुन्छ। मोबाईलमा फोटा खिचेर ल्याउनु। कुनै न कुनै आइडी। नागरिकता वा पासपोर्टको, भोटर आईडी वा लाईसेन्स जुन भएपनि हुन्छ। तर हार्डकपी नै बोक्नुपर्छ भन्ने छैन। फोटोकपी खिचेर ल्याए भयो। अहिले तत्काललाई आईपी एड्रेस छ। त्यसमा लगइन गर्ने, भर्ने। त्यो भरेपनि क्यूआर जेनेरेट हुन्छ। त्यो हाम्रो कर्मचारीलाई देखाउनु भयो भने त्यो उहाँहरूले रिड गर्नुहुन्छ। त्यसै आधारमा अहिले तत्काललाई निःशुल्क घुम्ने व्यवस्था मिलाइएको छ। अहिलेलाई निःशुल्क छ,’ उनले भने।
शहरी विकास मन्त्रालयअन्र्तगत शहरी विकास तथा भवन निर्माण विभागका अनुसार धरहरा चढ्न प्रि–टिकट बुकिङको व्यवस्था गर्ने भने पनि तत्कालका लागि धरहरास्थलमै गएर टिकट लिनुपर्नेछ।
२०१५ को विनाशकारी भूकम्पले ढलाएको धराहरा आधुनिक, सुविधायुक्त र बलियो बनाइएको छ। सो धरहरा अपांगतामैत्री भएकाले चढ्नेहरुलाई पनि चढ्न सहज र सजिलो हुने अपेक्षा गरिएको छ।
दुई वर्षमा सक्ने गरी २०७५ साल कार्तिकमा धरहरा पुननिर्माणको काम तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्नु भएपछि सुरु भएको थियो। आधुनिक शैलीमा निर्माण भएको धरहराका लागि जमिन अपुग भएपछि सरकारले गोस्वारा हुलाक, टक्सार विभाग, नेपाल बैंक र सुन्धारा रहेको सबै जमिन एकीकृत रूपमा विकास गरेको थियो। जसका कारण पहिले पाँच रोपनी क्षेत्रफलमा फैलिएको धरहरा ४२ रोपनीमा विस्तार भएको छ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले तयार पारेको डिजाइनअनुसार गोस्वारा हुलाक भएको ठाउँमा धरहरा प्रवेशद्वार रहेको छ। भित्र छिरेपछि दुई तला भूमिगत छ। भूमिगत तलाबाट लिफ्ट चढेर धरहराको माथिल्लो भागमा पुग्न सकिनेछ।