भद्रपुर: मोरंगको उर्लाबारी बहुमुखी क्याम्पसमा क्याम्पस प्रमुख पदमा खेमराज कार्कीलाई पुनः जिम्मेवारी दिईएपछि आन्दोलित विद्यार्थीहरुले हस्ताक्षर संकलन गर्न सुरु गरेका छन्। सोमबार पहिलो दिन २०० बढी विद्यार्थीले हस्ताक्षर गरेको अनेरास्ववियु क्याम्पस कमिटीका सचिव चिराग श्रेष्ठले जानकारी दिए।
क्याम्पसमा अध्ययनरत अधिंकाश विद्यार्थीहरु क्याम्पस प्रमुखमा कार्कीलाई बहाल राख्न नहुने पक्षमा रहेको श्रेष्ठको दाबी छ। विद्यार्थीहरुको हस्ताक्षर संकलन गरेर क्याम्पस प्रशासन र संचालक समिति अध्यक्षलाई बुझाउने तयारी रहेको अनेरास्ववियुले जनाएको छ।
कार्कीलाई क्याम्पस प्रमुख पदमा राख्न नहुने भन्दै आन्दोलित बनेको विद्यार्थीहरुको समुहले उनको कार्यकक्षमा तालाबन्दी गरेका छ भने नेम प्लेट समेत जलाएका छन्।
सो निर्णय नसच्याएसम्म दैनिक चरणबद्ध रुपमा विरोधका कार्यक्रमहरु गर्दै प्रदर्शन गरिने अनेरास्ववियुका अध्यक्ष गौतमबुद्ध तामाङले बताएका छन्।
क्याम्पस प्रमुख पदमा सामाजिक रुपले नैतिक रुपले पतन भैसकेको मान्छेलाई नियुक्ती गर्न नहुने बताउँदै विद्यार्थीहरुको भावनाअनुरुप जो सुकै भएपनि नयाँ क्याम्पस प्रमुख नियुक्ती गरिनुपर्ने माग राखिएको बताएका छन्।
क्याम्पस प्रमुखमा कार्कीको पुनर्वाहलीको विरोध गर्दै अनेरास्ववियु, अखिल क्रान्तिकारी, राष्ट्रिय युवा संघ नेपाल लगायतले प्रेस विज्ञप्ती जारी गरेका थिए।