भद्रपुरकी बबिता राजवंशीको भारतमा हत्या

IMG-20240924-WA0089

भद्रपुर: झापा भद्रपुर नगरपालिका–६ तेलिभिट्टा निवासी ३२ वर्षीया बबिता राजवंशीको सेप्टेम्बर १८मा भारतमा हत्या भएको प्रहरीले जनाएको छ।
उनको शव भारत पश्चिम बंगाल दार्जिलिङ जिल्ला खोरीबारी थानाअन्तर्गतको बिन्नागुरी ग्राम पञ्चायत हारिभिट्टानजिकैको केरा बगानमा भेटिएको हो।उनको शव कुहिएको अवस्थामा खोरीबारी पुलिसले भेट्टाएको थियो। अनुहार कीराले खाइसकेकोले पहिचान समेत नखुलेको उनको शव केराको पत्ताले छोपिएको थियो।
केरा बगानमा शव गन्हाएपछि स्थानीयले देखेर प्रहरीलाई खबर गरेका थिए। घटनास्थल नेपाल–भारत सीमा नाका भद्रपुरदेखि करिब दुई किलोमिटर पूर्वउत्तरमा पर्छ।
खोरीबारी पुलिसले शवको कानुनी प्रक्रिया पूरा गरेर पोस्टमार्टमका लागि उत्तरबंग मेडिकल कलेज पठाएका थिए।
शव पहिचान नखुलेको अवस्थामा घटना भएको ५ दिनपछि ती महिला भद्रपुरको भएको खुलेको हो। मृतक बबिता सागसब्जी बिक्री गर्थिन् ।
बबिता सेप्टेम्बर १५मा सीमावर्ती भारतीय बजारमा सागसब्जी लिन गएको उनका जेठाजु जितेन राजवंशीले बताए । बबिता केही दिनदेखि हराइरहेको अवस्थामा एक महिलाको शव सीमापारि भारतमा भेट्टिएको खबर सुनेर उनका परिवारजनले तत्काल भारतीय प्रहरीसँग समन्वय गरेका थिए।
परिवारजनले उनले लगाएको कपडाका आधारमा शवको पहिचान गरेका थिए। ‘बबितालाई हत्या गरी केरा बगानमा लगेर शव लुकाएर राखेको हुनुपर्छ,’ उनका जेठाजु जितेनले भने।
घटना शंकास्पद भएकाले खोरीबारी पुलिस थानामा गएर चारजनाको नाममा किटानी जाहेरी दिएको उनको भनाइ छ।
चारैजना भारतीय नागरिक हुन्। प्रतिमा बानिक, बालचन्द्र बानिक, दधिराम बर्मन र सहदेव बानिक रहेको उनले बताए।
उनीहरूको बबितासँग आर्थिक लेनदेन थियो। नेपाल प्रहरीसँग समन्वय गरी बबिताको शव हिजो दिउँसो साढे ३ बजे घर ल्याएर दाहसंस्कार गरिएको उनको भनाइ छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement