गान्तोक: राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङ गोलेको निर्देशनमा मन्त्री एनबी दाहालको नेतृत्वमा एउटा उच्च स्तरीय टोलीले उत्तर सिक्किममा गत वर्षको बाढीले क्षति पुऱ्याएको सडकको स्थितिबारे निरीक्षण गऱ्यो। यस टोलीमा मन्त्री एनबी दाहालको साथमा मन्त्री सामडुप लेप्चा, सडक तथा पुल विभागका सल्लाहकार इरुङ तेञ्जिङ लेप्चा , सचिव दोर्जी डाडुल , राज्य मुख्य अभियन्ता बसन्त कुमार तामाङ, राष्ट्रिय राजमार्ग १० का मुख्य अभियन्ता सुकबहादुर सुब्बा सामेल रहेका थिए। यस भ्रमणको प्रमुख उद्देश्य गत वर्षको बाढी साथै यसपालीको बर्खा मौसमले बाटोहरुमा पुर्याएको क्षतिको निरीक्षण गर्नु साथै कसरी यसलाई पुनःनिर्माण गर्न सकिन्छ यसका योजनाहरुबारे छलफल गर्नु रहेको थियो। भ्रमण गर्न गएका टोलीले बाटो साथै कतिपय क्षतिग्रस्त पूर्वाधारहरुको पनि मुल्याङ्कन गर्दै ती पूर्वाधारहरुको पनि चाँडै मर्मतको काम शुरु गर्ने सर-सल्लाह गरेको जानकारी प्राप्त भएको छ। यस भ्रमण टोलीमा जिल्ला अध्यक्ष कादो लेप्चा, जिल्ला पञ्चायतगण, साथै स्थानीय मानिसहरुको पनि उपस्थिति रहेको थियो। यस भ्रमणले गत वर्षको बाढीले जीर्ण अवस्थामा पुर्याएका बाटो साथै पूर्वाधारहरुको पुनःनिर्माणको कार्यमा महत्वपूर्ण भुमिका निर्वाह गर्ने र चाँडै नै यस कार्यको शुरुआत गरिने कुरामा स्थानीयहरु आश्वस्त बनेका छन्।









