गान्तोक: सिक्किमका दुई ताइक्वाण्डो खेलाड़ी उगेन गुरुङ र अद्विती सुब्बा आगामी ३० नोभेम्बरदेखि ४ दिसम्बरसम्म हङ्कङमा आयोजना हुने विश्व ताइक्वाण्डो पुम्से च्याम्पियनशीप-को निम्ति छनौट भएका छन्। यसरीनै यी दुई खेलाड़ीले आगामी विश्व च्याम्पियनशीपमा भारत देशलाई प्रतिनिधित्व गर्ने अवसर पाएका छन्।
हालै २० देखि २२ सेप्टेम्बरसम्म नासिकमा इण्डिया ताइक्वाण्डो (आइटी)द्वारा आयोजित च्याम्पियन अफ् च्याम्पियन्स २०२४मा पदक जितेपछि उगेन र अद्वितीले विश्व ताइक्वाण्डो पुम्से च्याम्पियनशीप-मा भारतीय टोलीमा स्थान पक्का गरेका हुन्। उक्त च्याम्पियनशीपमा अद्वितीले अण्डर-३० महिला टीम इभेन्टमा स्वर्ण अनि अण्डर-३० युगल इभेन्टमा काँस्य पदक जितेकी थिइन्। यसरी नै उगेनले अण्डर- ३० पुरुष एकल इभेन्टमा रजत र अण्डर-३० युगल इभेन्टमा काँस्य पदक जितेका थिए।
उल्लेखनीय छ, सिक्किम एमेच्यूर ताइक्वाण्डो एसोसिएशन (साटा) का प्रमुख प्रशिक्षक त्रिलोक सुब्बा अगावै विश्व ताइक्वाण्डो पुम्से च्याम्पियनशीप २०२४ को निम्ति छनौट भइसकेका छन्।