खरसाङ: खरसाङको रोहिणी झीलमा डुबेर एक व्यक्तिको मृत्यु भएको छ। मृत्यु हुने व्यक्तिको नाम रोहिणीको मानेखोप निवासी ३५ वर्षीय समीर दियाली भनी चिन्हित गरिएको छ। स्थानीयहरूले जानकारी दिए अनुसार आइतबार अत्याधिक गर्मीको कारण समीर दियाली झीलमा पौडी खेल्न गएका थिए। तर तिनी पौडी खेल्दा-खेल्दै बाहिर निस्कन सकेनन्। तिनी झीलको गहिराइमा डुबेको बताइएको छ। यो खबर सुनेर स्थानीय मानिसहरूले खोज्ने सक्दो प्रयास गरे पनि तिनलाई भेटाउन सकेन। यसबारे गाउँलेहरूले गाडीधुरा पुलिस आउट पोष्टलाई जानकारी दिएपछि त्यहाँबाट पुलिस आउट पोष्टको प्रभारी प्रितम लामा लगायत अन्य पुलिसकर्मीहरू आएर स्थितिको जानकारी लिए। ओसी प्रितम लामाले यसबारे जानकारी गराउँदै घटनाको स्थिति बुझेपछि राज्य आपदा प्रबन्धन टोलीलाई जानकारी दिएपछि उनीहरू आएर आज शवलाई उद्धार गरिएको छ। लामाले जनाए अनुसार प्रायः ३५ वर्षीय समीर दियाली रोहिणी मानेखोप निवासी रहेको थाहा लागेको छ भने तिनको पार्थिव शरीरलाई यहाँबाट उद्धार गरेर सुकना स्वास्थ्य केन्द्रमार्फत् नर्थ बंगाल मेडिकल कलेज तथा अस्पतालमा पोस्टमार्टमको निम्ति पठाइएको छ।