भद्रपुर: काठमांडू उपत्यकासहित देशका ७५ जिल्लामा फैलिएको डेंगुको जोखिम अझै केही दिन कायम रहने देखिएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्याङ्क अनुसार पुसदेखि हालसम्म देशभर ११ हजारभन्दा बढीमा डेंगु सङ्क्रमण पुष्टि भएको छ भने छ जना सङ्क्रमितको मृत्यु भएको छ। डेंगु सङ्क्रमण सबैभन्दा बढी कास्की जिल्लामा पुष्टि भएको छ। डेंगुको सङ्क्रमणको खतरा कायमै रहेकाले थप सजकता अपनाउन चिकित्सकको आग्रह छ।
यही तरिकाले बढ्दै गएमा दशैँमा डेंगु भयावह हुन सक्ने विज्ञको आकलन छ। लामखुट्टे वयस्क भइसकेकाले लामखुट्टेको टोकाइबाट बच्ने उपाय अपनाउन चिकित्सकहरुको सुझाव छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको किटजन्य शाखाका प्रमुख डा. गोकर्ण दाहालले अझै २०/२२ दिन डेंगुको जोखिम कायमै रहने हुँदा सचेत रहन आग्रह गर्नुभयो
उनि भन्छन ,“अबको २०-२२ दिनसम्म डेंगुको जोखिम कायमै रहन्छ, त्यसपछि बिस्तारै यसको जोखिम कम हुँदै जानेछ। त्यसैले यो समयमा सचेत रहन सबैलाई आग्रह छ।”
अबको २०-२२ दिन लामखुट्टेको टोकाइबाट बच्न सकेमा डेंगुले महामारीको रुप नलिने उनको भनाइ छ।
पछिल्लो समय काठमांडू भ्यालीमा डेंगु सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ। कीटजन्य शाखाका प्रमुख डा.दाहालले सङ्ख्यात्मक हिसाबले काठमांडू भ्यालीमा पनि डेंगु सङ्क्रमण क्रमिक रुपमा बढ्दै गएको छ।
उहाँ भन्नुहुन्छ,“बिरामी सामान्य उपचार गराउन पनि काठमांडू आउने भएकाले होला पछिल्लो समय भ्यालीमा डेंगु सङ्क्रमितको सङ्ख्या बढेको छ।” पछिल्ला केही हप्तादेखि शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा डेंगु सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ।
अस्पतालका सरुवारोग विशेषज्ञ डा.शेरबहादुर पुनले पछिल्लो केही हप्तादेखि अस्पतालमा डेंगु सङक्रमण भएर आउने बिरामीको सङ्ख्या बढ्दै गएको जानकारी दिए।
दुई तीन दिनमा नै डेंगुका दर्जनौ बिरामी थपिएको उहाँको भनाइ छ। उहाँ भन्नुहुन्छ,“डेंगु सङ्क्रमण भएर अस्पतालमा आउने बिरामीको सङ्ख्या पनि बढ्दै गएको छ। दुई दिनमा नै दर्जनौं बिरामी थपिएका छन्। डेढ हप्तामा १४० भन्दा बढी डेंगु भएर बिरामी आएका छन्।”
उहाँका अनुसार अस्पतालको इमर्जेन्सीमा बिरामी तारन्तार वान्ता भई, शरीर सहनै नसक्ने गरी दुखेर, बेहोस भएर आउने र परीक्षण गर्दा डेंगु पुष्टि हुने गरेको छ। डा.पुन भन्छन ,“डेंगुकाn बिरामीको भर्नादर धेरै नभए पनि,जोर्नी दुखेर, शरीर धेरै दुखेर बिरामी आउने गर्दछन्। रगत परीक्षण गर्दा डेंगु पुष्टि हुने क्रम बढ्दो छ।” धेरै सङ्क्रमित अस्पतालसम्म नपुगेको हुनसक्ने उनको तर्क छ।
यही तरिकाले डेंगु बढ्दै गएमा दशैंमा डेंगु भयावह हुन सक्ने उहाँको आकलन छ। लामखुट्टे वयस्क भइसकेकाले लामखुट्टेको टोकाइबाट बच्ने उपाय अपनाउन उनको सुझाव छ। दशैँको बेलामा लामखुट्टेको टोकाइबाट बच्न सकेमा डेंगुको जोखिम नबढ्ने डा.दाहाल बताउनुहुन्छ।
डेंगु रोग डेंगी भाइरसबाट सङ्क्रमित एडिज जातका लामखुट्टेको टोकाइबाट सर्ने सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनले बताउनुभयो। उहाँ भन्नुहुन्छ,“डेंगु दिनमा सक्रिय हुने कालो सेतो छिरबिरे रङको देखिने लामखुट्टेको टोकाइबाट हुने गर्छ।” एडिस जातको लामखुट्टे पानी जम्मा भएको जुनसुकै भाँडोमा पनि हुर्कन सक्छन्। सङ्क्रमण भएको चारदेखि १० दिनसम्माम सामान्यतया डेंगुका लक्षण देखिन्छन्। उच्च ज्वरो आउने, टाउको दुख्ने, जोर्नी र मांसपेशीहरु दुख्ने, शरीरमा राता बिमिरा आउने, आँखाको गेडी दुख्ने वाकवाकी लाग्ने डेंगुका प्रमुख लक्षण हुन्। डेंगुले दोस्रो पटक तर फरक सेरोटाइपले पुनः सङ्क्रमित गराए विगतको भन्दा थप घातक लक्षण देखिने डा.पुन बन्छ।