भद्रपुर: ओमानमा दुई नेपालीको कार दुर्घटनामा परी मृत्यु भएको छ। नीज्वा इज्की रोडमा रविबार भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको राजधानी मस्कटस्थित नेपाली दूतावासले जनाएको छ।
मृत्यु हुनेमा रुपन्देहीको तिलोत्तमा नगरपालिका घर भएका नरबहादुर सारु र झापाकी समिता बुढाथोकी छन्। कार सारुले चलाइरहेका थिए। एक्कासी अनियन्त्रित भई दुर्घटना हुँदा दुवै जनाको ज्यान गएको दूतावासले जनाएको छ।
सारु अल सीर कम्पनीमा मर्चनडाइजरको रुपमा सन् २०१८ देखि काम गर्दै आएका थिए।
समिता भने वारदात अल साब अलधब्या हिना एन्ड ब्यूटी सेन्टरमा हेयर स्ट्यालिस्टको रुपमा काम गर्थिन्। उनी दुई वर्षअघि मात्र त्यहाँ गएकी थिइन्। कानूनी प्रक्रिया पूरा गरी सारुको शव नेपाल पठाइएको र समिताको भने पठाउने प्रक्रियामा रहेको दूतावासले जानकारी दिएको छ।