भद्रपुर: केही दिनयता पूर्वी तराईसहित झापामा अत्यधिक बढेको तापक्रमका कारण मनिसहरु बेहोश हुन थालेका छन्।
कनकाईको कोटिहोम क्षेत्रमा एकजना बृद्धा अत्यधिक गर्मीका कारण ढलेकी छन्। उनलाई सुरुङ्गा स्वास्थ्य केन्द्रमा लगिएको स्थानीयले बताएका छन्।
कोटिहोम क्षेत्रमा लडिरहेको भेटेपछि उनलाई राधाकृष्ण मन्दिर श्यामकुटीमा लगेर राखिएको थियो। बुद्धशान्ति गाउँपालिकाबाट आएको बताउने ती वृद्धाको पहिचान खुलिसकेको छैन। यसैबीच, चार दिनअघि गिरीबन्धु टी इस्टेटनजिक मृत भेटिएकी महिलाको अत्यधिक गर्मीकै कारण मृत्यु भएको हुनसक्ने आशंका गरिएको छ।
बिर्तामोड-६ की ३६ वर्षीया राधिका जोगी एक्कासि ढलेकी थिइन्। अन्य बिरामी भएकी मागिहिँड्ने ती महिला एक्कासि ढलेपछि मृत्यु भएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ। डिएसपी प्रकाश विष्टका अनुसार ती महिलाले मादक पदार्थ सेवन गरेकोसमेत भेटिएको थियो।
अत्यधिक गर्मीका कारण झापाको जनजीवन प्रभावित बनेको छ। मानिसहरु विदा दिन पानीको मुहान खोज्दै डुबुल्की मार्न गइरहेका छन्। झापाबाटै नजिकै रहेको इलाम र मोरङका पहाडी क्षेत्रमा गर्मी छल्न जानेहरुको संख्य अत्यधिक रहेको छ।