गान्तोक: अरूण उप्रेती सिक्किम विधानसभाका अध्यक्ष निर्वाचित भएका छन्। तिनी विधायक तथा पूर्वमन्त्री हुन्। सिक्किम विधानसभामा आज सम्पन्न भएको चुनाउमा विधायक उप्रेतीले ३० मत प्राप्त गरे।
उल्लेखनीय छ, पूर्व विधानसभा अध्यक्ष एलबी दासले आफ्नो पदबाट राजीनामा दिएपछि अध्यक्षको पद रिक्त थियो। पूर्वमन्त्री अरूण उप्रेतीले पनि आफ्नो पदबाट राजीनामा दिएर विधानसभा अध्यक्ष पदका लागि नामाङ्कन बुझाएका थिए। मन्त्री सोनाम लामाले विधानसभा अध्यक्षको पदका लागि विधायक अरूण उप्रेतीको नाम प्रस्ताव राखे, जसलाई विधायक आदित्य गोलेले समर्थन जनाए। यसै गरी, विधायक डीटी लेप्चाले भाजपा विधायक दलको पक्षमा यस प्रस्तावलाई समर्थन जनाए। पूर्व मुख्यमन्त्री तथा विपक्षी एसडीएफ पार्टीका विधायक पवन चामलिङ आज अनुपस्थित थिए। चुनाउ प्रक्रिया पुरा भएपछि मुख्यमन्त्री प्रेमसिंह तामाङ र संसदीय मामिला मन्त्री कुङ्गा नीमा लेप्चाले उप्रेतीलाई विधानसभा अध्यक्षको कुर्सीमा विराजमान गराए। नेपाली परम्परात पोशाक लगाएका उप्रेती विधानसभा अध्यक्षको कुर्सीमा बस्नभन्दा पहिला तीनपल्ट कुर्सीलाई ढोग गरे। यसपछि, मुख्यमन्त्री र मन्त्री लेप्चाले नवनिर्वाचित अध्यक्षलाई खादा लगाइदिएर बधाई एवं शुभकामना व्यक्त गरे। उप्रेतीले पनि दुवैलाई ढोग गरेर आशीर्वाद लिए। यस क्रममा सदनका सदस्यहरूले पनि विधानसभा अध्यक्षलाई खादा लगाइदिएर बधाई एवं शुभकामना व्यक्त गरे। आफ्नो सम्बोधनमा विधानसभा अध्यक्ष उप्रेतीले मुख्यमन्त्रीप्रति कृतज्ञता व्यक्त गरे। उनले आज सम्पन्न भएको चुनाउमा समर्थनका लागि सदनका सबै सदस्यहरूलाई धन्यवाद दिए। उनले आफुलाई प्राप्त यो जिम्मेवारी पूर्ण निष्ठा एवं समर्पणका साथ निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले सदनका सदस्यहरूबाट पनि आफुलाई सहयोग एवं सहकार्य प्राप्त हुनेछ भन्ने आशा व्यक्त गरे।