तीनधारेमा इन्द्र सुन्दासको १०६औं जन्म जयन्ती कार्यक्रम सम्पन्न

IMG-20240922-WA0302

खरसाङ: साहित्य कला संस्थान तीनधारेको आयोजनामा तीनधारेमा इन्द्र सुन्दासको १०६औं जन्म जयन्ती पालन गरिएको छ। तीनधारेको इम्पोलइज युनियन कार्यालयमा सम्पन्न उक्त कार्यक्रमको अध्यक्षता साहित्य कला संस्थानको अध्यक्ष रञ्जनकुमार रसाईलीले गरेका थिए। कार्यक्रमलाई संस्थानको मूल सचिव सन्तोष लामाले सञ्चालन गरेका थिए भने स्वागत सम्भाषण चन्दु भुसालले राखेका थिए। कार्यक्रममा इन्द्र सुन्दासको विभिन्न पक्षमा शोध कार्य गरिसकेका वरिष्ठ व्यक्तित्वहरू उपस्थित रहेका थिए। धुप दीप प्रज्वलन साथै इन्द्र सुन्दासको तस्वीरमा खदार्पण गरेर कार्यक्रम शुरु गरिएको थियो। कार्यक्रममा इन्द्र सुन्दासमाथि शोध कार्य गरेका दार्जिलिङ निवासी डा निना राईले इन्द सुन्दासमाथि आफ्नो शोधको विषयमा जानकारी गराउँदै इन्द्र सुन्दासले स्थानीय विषय वस्तु र स्थानीय विषयहरूलाई लिएर विशेष रूपमा लेखेका छन् भनी बताइन्। त्यसरी नै दार्जिलिङ निवासी डा महेश प्रधानले इन्द्र सुन्दासको अध्यात्म पक्षमाथि आफ्नो वक्तव्य राखेका थिए। कार्यक्रममा कैजले निवासी डा अनिता लामाले इन्द्र सुन्दासको कथाहरूमाथि शोध कार्य गरेको कारणले उनले इन्द्र सुन्दासको कथाहरूमाथि आफ्नो सम्बोधन राखेका थिए। कार्यक्रममा सबै अतिथिहरूको परिचय र इन्द्र सुन्दासको कुन विषयमा शोध कार्य गरेको भन्ने विषयमा परिचयात्मक जानकारी डा अमीर दर्जीद्वारा राखिएको थियो। कार्यक्रममा साहित्य कला संस्थानको तर्फबाट बरूण रसाईली र उत्तम शर्माले वक्तव्य राखेका थिए। कार्यक्रममा धन्यवाद ज्ञापन मूल सचिव सन्तोष लामाले राखेका थिए। कार्यक्रममा अध्यक्षीय सम्बोधन राख्दै साहित्य कला संस्थानको अध्यक्ष रञ्जनकुमार रसाईलीले इन्द्र सुन्दासको जन्म जयन्ती तीनधारेमा सम्भवत प्रथमपल्ट आयोजना गरिएको बताउँदै इन्द्र सुन्दासको जन्म जयन्ती भविष्यमा पनि पालन गरिनु पर्ने बताउँदै इन्द्र सुन्दासको विषयमा विद्यार्थीहरूलाई पनि जानकारी गराउनुपर्छ भनी बताएका छन्। कार्यक्रममा विद्यार्थीहरू, अभिभावकहरू, शिक्षक शिक्षिकाहरू र स्थानीय साहित्यकारहरू उपस्थित रहेका थिए। कार्यक्रममा अतिथिहरूद्वारा उपस्थित विद्यार्थी नानीहरूलाई खाता पेन्सिलहरू लगायत शिक्षामा आवश्यक सामाग्रीहरू वितरण गरिएको जानकारी प्राप्त भएको छ।

About Author

Advertisement