खरसाङ: घैयाबारी मगर समाजको दोस्रो स्थापना दिवस साथै सम्बर्ध्दना कार्यक्रम सम्पन्न भएको छ। सन् २०२२ मा स्थापना भएको घैयाबारी मगर समाजको आयोजनामा घैयाबारीको लोवर गैरी गाउँस्थित सार्वजनिक भवनमा मगर समाजको सभापति भुषण थापाको अध्यक्षता र घैयाबारी ग्राम पञ्चायत तीनको पञ्चायत प्रधान सुष्मा वाईबाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विशिष्ट अतिथिको रुपमा घैयाबारी ग्राम पञ्चायत तीनको उप प्रधान केवल राई उपस्थित रहेका थिए। प्रणाम थापाले सञ्चालन गरेको उक्त कार्यक्रममा स्वागत सम्भाषण घैयाबारी मगर समाजको सल्लाहकार जयराज थापाले राखेका थिए। कार्यक्रममा नानीहरू क्रमैले समृध्दि थापा, निमिशा थापा लगायत अन्यहरूले नृत्य प्रस्तुत गरेका थिए। कार्यक्रमा हालमा पोखरामा रहेकी घैयाबारीकी गायिका शीत्तल थापाले गीतहरू प्रस्तुत गरेका थिए। यसै कार्यक्रममा घैयाबारी मगर समाजका नानीहरू जसले विभिन्न क्षेत्रहरूमा गरिरहेको उन्नति र प्रगतिको लागि सम्बर्ध्दना जनाइएको छ। यस क्रममा माध्यमिक परीक्षामा उत्तीर्ण अभियान थापा, फुटबल खेलाड़ी राहुल थापा, अधिवक्ता उत्तीर्ण मञ्जिता थापा र डेन्टिस डा प्रकृति थापालाई घैयाबारी मगर समाजको तर्फबाट खदार्पणसहित स्मृति चिन्ह प्रदान गरेर सम्बर्ध्दना जनाइएको छ। घैयाबारी मगर समाजको दोस्रो स्थापना दिवस र सम्बर्ध्दना कार्यक्रमको शुरुवात मित्रसेन थापाको तस्वीरमा खदार्पणसहित धुप दीप प्रज्वलन गरेर थालिएको थियो।

कार्यक्रममा समाजको वयोवृद्धा सावित्री थापाको बाहुलीबाट केक काटेर दोस्रो स्थापना दिवस पालन गरिएको थियो। यस कार्यक्रम विषयमा घैयाबारी मगर समाजको सभापति भुषण थापाले आफ्नो सम्बोधनमा मगरहरू ढिलो र लेडे भन्छन् साथै ओढारमा देउसी खेल्ने भन्छन् तर अहिले समय परिवर्तन भएको छ भनी बताएका छन्।

उनले अहिलेको समयमा मगरहरूले पनि धेरै उन्नति गरेको र विभिन्न क्षेत्रमा मगरहरू अघि रहेको बताउँदै घैयाबारी मगर समाजले साहित्य, संगीत, कला, खेलकूद आदिलाई प्राथमिकता दिएको र यसै अनुसार घैयाबारी मगर समाजको नानीहरूले विभिन्न क्षेत्रहरूमा गरेको उन्नतिको र योगदानको लागि हामीले सम्बर्ध्दना जनाउँदै आएको र यसपाली पनि सम्बर्ध्दना गरेको बताएका छन्। थापाले घैयाबारी मगर समाज २०२२ मा स्थापना भएर निरन्तर कार्य गर्दै आईरहेको बताएका छन्।