भद्रपुर: बुद्धशान्ति प्रेस क्लबको आयोजनामा झापाको बुद्वशान्तिमा झापा मिडिया कप २०८१ आयोजना हुने भएको छ।
प्रेस क्लब बुद्धशान्तिले विजय दशमीको अवसर पारेर झापा जिल्ला भरिका प्रेस क्लबहरुबीच मिडिया कप फुटबल प्रतियोगिता आयोजना गर्न लागेको पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ।
प्रतियोगितामा झापाका छ वटा पालकिास्तरका प्रेस क्लब र नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) गरेर जम्मा सात वटा झापाको टिम सहभागी रहने क्लबका अध्यक्ष तीर्थ तिम्सिनाले बताए।
क्लबका अध्यक्ष तिम्सिनाका अनुसार प्रतियोगितामा आयोजक बुद्धशान्तिसहित अर्जुनधारा, मेचीनगर, कनकाई र भद्रपुर प्रेस क्लब , पत्रकार मञ्च दमक र नेपाल खेलकुद पत्रकार मञ्च सहभागी हुनेछन्।
यसबैीच, आयोजकले ड्रमार्फत खेल तालिका समेत सार्वजनिक गरेको छ । तालिकाअनुसार पहिलो खेलमा अक्टुबर ३मा आयोजक बुद्धशान्ति र अर्जुनधारा प्रेस क्लबले प्रतिस्पर्धा गर्ने छन्। सो दिन पहिलो चरणका ३ खेल हुनेछ।
मिडिया कपको विजेताले नगद २५ हजार, आकर्षक ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेता टिमले नगद १५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ।
प्रतियोगिता सम्पन्न गर्न करिब २ लाख ५० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । पत्रकार सम्मेलनमा क्लबका सचिव रोशन भट्टराई र बुद्धशान्ती प्रेस क्लबका निवर्तमान अध्यक्ष आयुष निरौलाको उपस्थिति थियो।
दुई दिन सम्म चल्ने प्रतियोगिता होक्सेमा रहेको त्रिभुवन माविको खेलमैदानमा आयोजना हुने उपाध्यक्ष नारायण अर्यालले बताए।