भद्रपुर: नेपालले ४० मेगावाट बिजुली बिक्री गर्न बंगलादेश र भारतलाई आगामी अक्टूबर ३ मा त्रिपक्षीय सम्झौता गर्न प्रस्ताव पठाएको छ। आगामी अक्टोबर ३ मा नेपाल, भारत र बंगलादेशबीच ४० मेगावाट बिजुली खरिदबिक्री सम्झौता गर्ने मितिको प्रस्ताव पठाए पनि अहिलेसम्म जवाफ आइनसकेको ऊर्जा मन्त्रालयले जनाएको छ।
सम्झौताको प्रस्तावित मिति परराष्ट्र मन्त्रालयमार्फत गत बुधबार नै पठाइसकिएको मन्त्रालयका प्रवक्ता चिरञ्जीवी चटौतले बताए। ‘अक्टोबर १ र २ मा बंगलादेश र नेपालको ऊर्जा सचिवस्तरीय र सहसचिवस्तरीय बैठक बस्ने र अक्टोबर ३ मा सम्झौता गर्ने गरी प्रस्ताव पठाइसकेका छौं,’ उनले भने।
पोखरामा ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समिति (ज्वाइन्ट स्टेरिङ कमिटी–जेएससी) र सहसचिव सम्मिलित संयुक्त कार्यदल (ज्वाइन्ट वर्किङ ग्रुप–जेडब्ल्युजी) बैठक बस्ने गरी मिति प्रस्ताव गरेको चटौतले जनाए। लगत्तै अक्टोबर ३ मा नेपाल, भारत र बंगलादेशबीच विद्युत् खरिदबिक्रीको सम्झौता गर्ने गरी प्रस्ताव पठाइएको उनको भनाइ छ।
४० मेगावाट विद्युत् खरिदबिक्रीका लागि नेपालका तर्फबाट नेपाल विद्युत् प्राधिकरण, बंगलादेशका तर्फबाट बंगलादेश पावर डेभलपमेन्ट बोर्ड (बीपीडीबी) र भारतको तर्फबाट एनटीपी विद्युत् व्यापार निगम (एनभीभीएन) बीच सम्झौता हुनेछ। यसअघि ४० मेगावाट बिजुली खरिदबिक्री गर्न गत जुलाई २८मा सम्झौता मिति तय गरिएको थियो। तर बंगलादेशमा विकसित राजनीतिक घटनाक्रमले गर्दा सम्झौता स्थगित गर्न भन्दै बंगलादेशले गत अगस्त पहिलो पहिलो साता पत्र पठाएर अनुरोध गरेको थियो।
बंगलादेशका तत्कालीन प्रधानमन्त्री शेख हसिनाकै अगुवाइमा ४० मेगावाट बिजुली खरिदबिक्री गर्ने प्रक्रिया अघि बढेर सम्झौता मिति तय भए पनि अगस्त ६ मा उनले राजीनामा दिएकी थिइन्। हसिनाले देश छाडेपछि बिजुली खरिदबिक्री सम्झौता अब के हुन्छ भन्ने बेलामा बंगलादेशका अन्तरिम सरकारका प्रमुख मोहम्मद युनुसले नेपालबाट बिजुली आयात गर्ने विषयलाई समर्थन गरेलगत्तै फेरि प्रक्रिया अघि बढेको हो।
अनौपचारिक रूपमा सम्झौता मितिबारे छलफल गरेर नै प्रस्ताव पठाइएको र लिखित रूपमा केही नआएको मन्त्रालयका प्रवक्ता चटौतले बताए। ‘मौखिक रूपमा तीनवटै देशका लागि उपयुक्त हुने भएपछि सम्झौता मितिको प्रस्ताव पठायौं,’ उनले भने, ‘सरकारका विभिन्न निकायबाट स्वीकृति लिएर भारत र बंगलादेशले पत्र पठाइसके पनि मात्रै सम्झौता मिति टुंगिन्छ।’
यसअघि मन्त्रालयले सेप्टेम्बरमै सम्झौता गरी यस वर्ष दुई महिना भए पनि बंगलादेशलाई बिजुली बेच्ने गरी सम्झौताका लागि पहल गरिरहेको जनाएको थियो। गत मंगलबार बंगलादेशका लागि नेपालका राजदूत घनश्याम भण्डारीले पनि बंगलादेशका अन्तरिम सरकारका प्रमुख मोहम्मद युनुसलाई भेटेका थिए।
प्राधिकरणले वर्षायामको ५ महिना अर्थात् हरेक वर्षको १५ जुनदेखि १५ नोभेम्बरसम्म बंगलादेशलाई बिजुली बिक्री गर्ने समझदारी छ। हरेक वर्ष ५ महिनामा कुल १ लाख ४४ हजार मेगावाट आवर बिजुली निर्यात हुनेछ। प्राधिकरणले बंगलादेशमा विद्युत् बिक्री गरी प्रतियुनिट ६.४० अमेरिकी सेन्ट पाउनेछ। ५ महिनामा ९२ लाख १६ हजार अमेरिकी डलर आम्दानी हुने प्राधिकरणले जनाएको छ।
नेपाल र भारतबीचको पहिलो अन्तरदेशीय ढल्केबर–मुजफ्फरपुर ४०० केभी प्रसारण लाइन हुँदै बंगलादेश निर्यात हुने विद्युत्को मूल्य प्राधिकरणले भारतरको मुजफ्फरपुर बिन्दुमा पाउनेछ। अर्थात् बंगलादेश निर्यात हुने विद्युत्को मिटर मुजफ्फरपुरमा रहनेछ। ढल्केबरबाट मुजफ्फरपुरसम्मको प्रसारण लाइनको प्राविधिक चुहावट प्राधिकरणले नै बेहोर्नेछ।
मुजफ्फरपुरबाट भारतको प्रसारण लाइनमार्फत बेहरामपुर (भारत)–भेडामारा (बंगलादेश) ४०० केभी प्रसारण लाइन हुँदै बंगलादेश विद्युत् पुग्नेछ।
प्राधिकरणले भारतीय अनुदानमा निर्माण भई आफ्नो स्वामित्वमा रहेको २५ मेगावाटको त्रिशूली र सहायक कम्पनीमार्फत निर्माण गरिएको २२ मेगावाटको चिलिमे जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् बंगलादेश निर्यात गर्ने तयारी गरेको छ। यी दुवै आयोजनाले भारतमा विद्युत् निर्यातका लागि स्वीकृति पाइसकेका छन्। बीपीडीबीले १ जनबरी २०२३ मा नेपालबाट उत्पादित ४० मेगावाट विद्युत् बंगलादेश, भारत र नेपालका निकायबीचको त्रिपक्षीय सम्झौताअनुसार हुने गरी पाँच वर्षसम्म खरिदका लागि बोलपत्र (टेन्डर) आह्वान गरेको थियो।
प्राधिकरणले गत जनबरी अन्तिम साता विद्युत् बिक्रीका लागि तोकिएको ढाँचामा बिक्री गरिने विद्युत्को दरसहितको बोलपत्रसम्बन्धी कागजात पेस गरेको थियो। त्यसपछि प्राधिकरणको टोली र बीपीडीबीअन्तर्गतको बोलपत्र (बिड) मूल्यांकन समितिबीच गत फागुन १० मा ढाकामा वार्ता भएको थियो। नेपालले प्रतियुनिट बिजुलीको मूल्य ६.७० अमेरिकी सेन्ट प्रस्ताव गरेको थियो। नेपालले भारतलाई बेचेको भन्दा कम मूल्यमा नदिने अडान राखेपछि बैठकमा मूल्यको सहमति जुटेन।
तर पछि सिंगापुरमा विश्व बैंकले आयोजित सार्कका ऊर्जा सचिवस्तरीय बैठकका क्रममा भएको द्विपक्षीय छलफलमा बंगलादेश नेपालले प्रस्ताव गरेको मूल्यमा केही घटेर ६.४० अमेरिकी सेन्टमा बिजुली खरिद गर्न सहमत भएको थियो।
मूल्यमा सहमति भए पनि गत जुन ११ मा मात्रै बंगलादेशको मन्त्रिपरिषद्को सार्वजनिक खरिदसम्बन्धी समिति (सीसीजीपी) ले नेपालबाट आयात गरिने विद्युत्को मूल्य स्वीकृत गरेको थियो। पेस गरिएका बोलपत्रसम्बन्धी कागजात मूल्यांकन गरी त्यसलाई सम्बन्धित निकायबाट स्वीकृत भएको जानकारी दिँदै बीपीडीबीले बोलपत्र स्वीकार गर्ने आशयको सूचना जुलाई ७मा प्राधिकरणलाई दिएको थियो।
प्राधिकरणले पनि बोलपत्र स्वीकार गरेको लिखित सूचना बीपीडीबीलाई दिएको थियो। लगत्तै बीपीडीबीले विद्युत् बिक्री सम्झौताको मस्यौदा प्राधिकरणलाई पठाएको थियो। प्राधिकरणले मस्यौदा पाएसँगै सम्झौता मिति तय गरेर बीपीडीबीलाई निमन्त्रणासहित गत जुलाई १८ पत्र पठाएको थियो।
बंगलादेशको मन्त्रिपरिषद्को आर्थिक मामिलासम्बन्धी समितिले गत मंसिर २० मा नेपालबाट ४० मेगावाट बिजुली आयात गर्ने प्रस्तावलाई सैद्धान्तिक स्वीकृत गरेको थियो। सो अनुसार मूल्यलाई प्राथमिकतामा राखेर बिक्रीका लागि प्रस्ताव पठाउन बंगलादेशले नेपाललाई पत्र पठाएको थियो। प्राधिकरणले जनबरी को अन्तिम साता बिक्री प्रस्ताव पठाएको थियो।