गान्तोक: गान्तोकस्थित पाल्जोर नामग्याल स्कूलमा मेरी स्कट सेन्टेनियल हलको उद्घाटन कार्यक्रम सम्पन्न भयो।
सो कार्यक्रममा मुख्य अतिथिकोरूपमा मुख्यमन्त्री प्रेमसिंह तामाङ रहेका थिए उनले उक्त हलको उद्घाटन गरे।
मुख्यमन्त्रीले आफ्नो सम्बोधनको क्रममा यस स्कूलले आफ्नो शैक्षिक यात्राको एक सय वर्ष पूरा गरेकोमा सम्पूर्ण स्कूल परिवारलाई बधाई अनि शुभकामना टक्राए। साथै यरे मल्टी पर्पज हलको निम्ति पनि उनले सबैलाई बधाई दिए। शिक्षा साथै स्कूल समाजको मेरुदण्ड रहेको बताउँदै सबैजना लागि परेर यस क्षेत्रको उन्नति गर्नुपर्ने मुख्यमन्त्रीले सबैलाई आह्वान गरे। उनले आजभन्दा सय वर्षअघि यो स्कूल स्थापना गर्दा सबै कुराको सुविधा थिएन, तर त्यस्तो चुनौतीपूर्ण समयमा पनि यो स्कूल शुरु गरेर शिक्षाको क्षेत्रमा महत्वपूर्ण योगदान पुऱ्याएकोमा स्कूल स्थापना गर्ने व्यक्तिहरुलाई स्मरण गर्दै नमन गरे।
उनले एसकेएम पार्टी २०१९ मा सरकारमा आएपछि सरकारले सबैभन्दा बढी शिक्षा अनि स्वास्थ्यको क्षेत्रमा धेरै कार्य गरेको बताए। अझै पनि राज्यको शिक्षामा प्रणालीमा सुधार ल्याउने कुरामा प्रयासरत् रहेको उनले थप बताउँदै यस्तो कार्यमा सरकार मात्र होइन तर जनभागीदारी हुन आवश्यक रहेको मन्तव्य प्रकट गरे।
आफू पढेको सोरेङ वरिष्ठ माध्यमिक स्कूलको शतवार्षिकी कार्यक्रममा आफू सहभागी हुन नपाएको तीतो अनुभव साझा गर्दै यस सुनौलो अवसरमा सहभागी हुन सकेका समस्त विद्यार्थीहरुलाई उनले बधाई दिए। आफू मुख्यमन्त्री भएपछि समयको मुल्य अझ बढी बुझेको बताउँदै विद्यार्थीहरुले पनि समयको मूल्य बुझेर काम गरे जीवन सार्थक बन्न सक्ने, तर नबुझे जीवनमा दुःख पाउने कुरा बताए। उनले सबै विद्यार्थीहरुलाई समयको मुल्य बुझेर पढाईमा मन लगाउने आह्वान गरे।
वर्तमान सरकारले विद्यार्थीहरुका हितमा धेरै योजनाहरु तयार गरेको र त्यस अनुसार काम भइरहेको जानकारी गराउँदै हालमा चारजना राज्यका मेधावी विद्यार्थीहरुलाई विदेशका राम्रा विश्वविद्यालयहरुमा पढ्न सरकारले सहयोग गरिरहेको जानकारी गराए।
उनले अपतन फेलोशिप, चीफ मिनिस्टर एडुकेशन एसिस्टेन्ट स्कीमका माध्यमद्वारा पनि राज्यका गरीब विद्यार्थीहरुलाई उच्च शिक्षा आर्जन गर्न सकारले सहयोग गरिरहेको अवगत गराए। विद्यार्थीहरुले अबदेखि उसो पढेर सरकारी नोकरी मात्र गर्छु भन्ने ध्येय नराखेर अन्य उद्योग वा व्यवसाय पनि गर्छु भन्ने सोच बनाउने सुझाउ दिँदै यस क्षेत्रमा शिक्षित युवाहरुलाई प्रोत्साहन गर्न सरकारले सिक्किम इन्स्पायर्स योजनाको शुरुवात गरेको जानकारी दिए। यस योजना अन्तर्गत तालिम प्रदान गरेर राज्यका युवाहरुलाई बाहिर देशहरुमा काम गर्न अवसरहरु सृजना गरिने जानकारी दिँदै हालमा राज्यका ५२ जना नर्सहरुले जर्मनीमा कार्य गरिरहेको बताए।
आजको कार्यक्रममा सिक्किम सरकारका शिक्षा विभागीय मन्त्री राजु वस्नेत, स्वास्थ्य एवं परिवार कल्याण विभागीय मन्त्री जीटी ढुङ्गेल, विधायक लोकनाथ नेपाल, गान्तोक नगर निगमकी उप मेयर छिरिङ पाल्देन भोटिया, अभिभावकगण, शिक्षक-शिक्षिका साथै विद्यार्थीहरुको उपस्थिति रहेको थियो।