गान्तोक: होलीक्रस स्कूलमा आज राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङले नवनिर्मित सिन्थेटिक टर्फयुक्त खेल मैदानको उद्घाटन गरे।
मुख्य अतिथिकोरूपमा उपस्थित मुख्यमन्त्री तामाङले कार्यक्रमलाई सम्बोधन गर्दै यस खेल मैदानको निर्माणको निम्ति क्षेत्र विधायक जीटी ढुङ्गेलले आफूसँग प्रस्ताव राखेपछि यसलाई स्वीकार्दै सहयोग प्रदान गरेको अवगत गराए।
धैरे वर्षसम्म यस विद्यालयको अघि फुट ओभर ब्रीज बनेको थिएन्, तर एसकेएम पार्टी सरकारमा आएपछि अहिले फुट ओभर ब्रीज निर्माणाधीन अवस्थामा रहेको र अबको एक दुई महिनामा यसको निर्माण कार्य समाप्त हुने उनले जानकारी गराए। वर्तमान सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिँदै काम गरिरहेको उनले जानकारी गराए। पूर्व सरकारको कार्यकालमा शिक्षासँग सम्बन्धित कुनै नियम थिएन्, विशेष गरेर शिक्षकहरूको निम्ति स्थायीकरणको नीति तय गरेर विद्यार्थी साथै शिक्षकवर्गलाई न्याय दिलाउन वर्तमान सरकार सफल भएको उनले बताए।
मुख्यमन्त्रीले शिक्षा समाजको मेरूदण्ड रहेको मन्तव्य प्रकट गर्दै शिक्षित समाजले राज्य र राष्ट्र निर्माणमा अह्म भूमिका निर्वाह गर्छ भनी बताए। एसकेएम पार्टीलाई दोस्रोपल्ट सरकारमा ल्याउन सबैको महत्वपूर्ण भूमिका रहेको बताउँदै उनले सिक्किमको शिक्षालाई गुणस्तरीय़ बनाउनको निम्ति सरकार सदैव प्रयासरत रहेको छ भने। उनले सुनौलो सिक्किम, समृद्ध सिक्किम निर्माण गर्न सबै एक बनेर टीम सिक्किमको भावका साथ काम गर्नुपर्छ भनी आग्रह गरे। जनताले जुन विश्वास गरेर एसकेएम पार्टीलाई सरकारमा पुऱ्याए त्यो विश्वासलाई कायम राख्ने उद्देश्यले काम गर्ने उनले विश्वास दिलाए।
राजनीतिज्ञहरूबाट जनताले धेरै आशा राखेको हुनाले राजनीतिज्ञहरूले जनताको आशा र भरोसालाई कायम राख्नको निम्ति इमान्दारपूर्वक काम गर्नुपर्ने उनले सुझाउ दिए। यस स्कूलका विद्यार्थीहरूद्वारा प्रस्तुत गरिएको नृत्य प्रतियोगिताको प्रंशसा गर्दै अब पाल्जर स्टेडियममा वर्षेनी आयोजना गरिने राज्यस्तरको कार्यक्रममा यस विद्यालयलाई पनि एउटा नृत्य प्रस्तुत गर्नको निम्ति अवसर प्रदान गर्ने वचन दिए।
यस विद्यालयलाई सरकारको कुनै प्रकारको सहयोगको आवश्यकता परेको खण्डमा क्षेत्र विधायकको तर्फबाट आउन सुझाउ दिँदै विद्यालयको पूर्वाधार निर्माणको निम्ति सहयोगस्वरूप मुख्यमन्त्री विवेकाधनी कोषबाट १० लाख रुपियाँ प्रदान गरिने मुख्यमन्त्रीले घोषणा गरे।
कार्यक्रममा मुख्यमन्त्रीकी धर्मपत्नी कृष्ण राई, स्वास्थ्य मन्त्री जीटी ढुङ्गेल, शिक्षा विभाग मन्त्री राजु बस्नेत लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो।