गान्तोक: सिक्किम सरकारका शिक्षा विभागीय मन्त्री राजु बस्नेतले आज विकास क्षेत्रस्थित टाशी नामग्याल सिनियर सेकेन्डरी स्कूल हलमा आयोजित क्षमता विकास कार्यक्रममा सहभागिता जनाए। मुख्यमन्त्री मेन्टरसिप कार्यक्रमअन्तर्गत समग्र शिक्षाले भूमि एजुकेशनल कन्सल्टेन्सीसँगको सहकार्यमा उक्त कार्यशाला आयोजना गरेको हो। कार्यक्रममा मन्त्री बस्नेतले आफ्नो मन्तव्यमा सिक्किममा नीतिगत पहलहरू मार्फत शिक्षा सुधार गर्न सरकारले गम्भीरतासित काम गरिरहेको बताए। यसअन्तर्गत सरकारको कार्यको राम्रो परिणाम पनि निस्किरहेको बताए। यसक्रममा उनले बोर्ड परीक्षामा अझ राम्रो परिणाम ल्याउन मुख्यमन्त्री मेन्टरसिप कार्यक्रम सञ्चालनमा ल्याएको बताए। यस पहलको लक्ष्य आगामी परीक्षाहरूमा शतप्रतिशत उत्तीर्ण दर हासिल गर्ने हो भन्दै मन्त्री बस्नेतले शतप्रतिशत उत्तीर्ण नहुन्जेलसम्म विभागले सक्रियतासित काम गरिरहने कुरामा जोड दिए। स्मरण रहोस्, मुख्यमन्त्री तामाङले गत शिक्ष दिवसको दिन यो कार्यक्रमको औपचारिक शुरुवात गरेका हुन्। शिक्षा मन्त्रीले यो लक्ष्य हासिल गर्नका लागि संस्थाका प्रमुखहरूलाई गम्भीरतासित भूमिका निर्वाह गर्ने आग्रह गर्दै यसको सफलताका लागि दृढ संकल्प महत्त्वपूर्ण रहेको बताए। उनले विद्यार्थीहरूको परीक्षा-सम्बन्धमा काम गर्न शिक्षकहरूलाई प्रोत्साहन गरे। व्यक्तिगत अनुभव प्रयोग गरेर विद्यार्थीहरूलाई मार्गदर्शन गर्ने समर्पित शिक्षकहरूको महत्त्वमाथि पनि शिक्षा मन्त्रीले जोर दिए। कार्यक्रममा अतिरिक्त मुख्य सचिव आर तेलाङ, शिक्षा विभागका अधिकारीहरु, शिक्षिकहरु र सिक्किमका सबै २११ स्कूलहरूका प्रमुखहरू र कर्मचारीहरू पनि उपस्थित थिए। यसबीच सुनौलो सिक्किम समृद्ध सिक्किम पहलको सफलता सरोकारवालाहरूको सक्रिय संलग्नतामा निर्भर हुने कुरामा जोड़ दिइएको थियो। आफ्नो सम्बोधनमा अतिरिक्त मुख्य सचिव तेलाङले दशौं कक्षामा शतप्रतिशत उत्तीर्ण दर विकास गर्ने कार्ययोजनाबारे प्रकाश पारे। उनले यो लक्ष्य हासिल गर्नाले सिक्किमको इतिहासमा महत्त्वपूर्ण विकास हुने दक्ष जनशक्ति तयार र विद्यालयहरूबीच प्रतिस्पर्धा र सहकार्यलाई बढावा दिन मदत गर्ने पनि बताए। आगामी चार महिना अक्टोबरदेखि जनवरी महिनासम्म महत्वपूर्ण हुने उल्लेख उनले गरे।