सिलगढी: रुसमा सौनिकको रूपमा पक्राउ परेका कालेबुङ निवासी उर्गेन तामाङ अन्ततः सकुशल घर फर्किएका छन्। उनी शनिबार बिहान बागडोग्रा विमानस्थल आइपुगे उनलाई कालेबुङ नगरपालिकाका अध्यक्ष रवि प्रधान लगायत सम्पूर्ण परिवारले विमानस्थलमा स्वागत गरे। उनकी पत्नी अम्बिका र दुई छोराछोरीलाई विमानस्थलमा देखेर उर्गेन तामाङ भावविह्वल बने। परिवारलाई विमानस्थलमा देखेर उनको आँखाबाट आँसु झर्यो। उर्गेन कालेबुङ नगरपालिकाको वार्ड न० १९ का बासिन्दा हुन्l उनी सेनाबाट अवकाश लिएर गुजरातमा कार्यरत थिए, त्यहाँबाट उनले दिल्लीका एजेन्टलाई सम्पर्क गरे, त्यसपछि उनी घर आएर दिल्ली गए, त्यसका लागि उनले एजेन्टलाई ६ लाख रुपियाँ पनि दिएका थिए। उर्गेन १८ जनवरीमा रुस गएका थिए। उनले त्यहाँ सेक्युरिटी गार्डको रुपमा काम गर्ने भनिए पनि केही कागजातमा हस्ताक्षर गरेपछि उनलाई पहिले मस्को लगियो। त्यहाँबाट उनलाई युक्रेनविरुद्धको युद्धको मैदानमा लगियो। २६ मार्चमा एक भिडियो सन्देशमा उर्गेनले आफू अलपत्र परेको र उनलाई देश फिर्ता ल्याउन प्रधानमन्त्रीलाई अपील गरेको बताए। त्यसपछि केन्द्र सरकारले पहल गर्यो।