दार्जीलिङ: दार्जिलिङ जिल्लाव्यापी जडान गरिने भनिएको विद्युतीय स्मार्ट तथा प्रीपेड मिटरलाई केन्द्र गरेर २९ सेप्टेम्बर आइतवार नागरिक सम्मेलन हुने जानकारी छ। स्थानीय जीडीएनएस हलमा हुने उक्त सम्मेलन अवधि स्मार्ट मिटरको फाइदा र बेफाइदाबारे अल बङ्गाल विद्युत उपभोक्ता सङ्गठनका अधिकारीहरुले स्थानीय नागरिक समाज अनि उपभोक्ताहरूलाई अवगत गराउने जिल्ला संयोजक अनिल गुरूङले जानकारी गराएका छन्।
यसबारे मिडियामा बोल्दै उनले पहाडका कतिपय ठाउँहरुमा यसको जडान शुरू भइसकेको बताए भने कर्पोरेट हाउसअन्तर्गत वितरण भइरहेको सो प्रिपेड प्रणालीले उपभोक्ताहरुलाई फाइदाभन्दा धेर नोक्सान हुने गुरूङको भनाइ छ। यता अल बङ्गाल विद्युत उपभोक्ता सङ्गठनका प्रतिनिधिहरुको साथ उपस्थित लक्ष्य समुहका राजेश गुरूङले यो प्रणाली शुरु गर्न पहाडवासीबीच जनजागरूकता ल्याउनुपर्ने माग गरे भने आम उपभोक्ताहरुलाई यसबारे सचेत भइदिने अपील गरे।