उदयपुरमा आमा र छोरा हत्याका अभियुक्त सार्वजनिक

IMG-20240921-WA0002

भद्रपुर: उदयपुरको कटारी नगरपालिका–१० सोरुङ्गछ विसेमा गत सेप्टेम्बर ४मा भएको आमा छोराको हत्या गरेको आरोपमा प्रहरीले शुक्रबार (हिजो) एक जनालाई सार्वजनिक गरेको छ।
वडा कार्यालय नजिकै किराना पसल गरी बस्ने ३८ वर्षीया आमा निर्मला थापा र उनका ६ वर्षीया छोरा आरुस थापाको हत्या गरेको अभियोगमा सोरुङ्गछविसेकै ३२ वर्षीय ताराबहादुर थापा मगरलाई प्रहरीले सार्वजनिक गरेको हो।
जिल्ला प्रहरी कार्यालयका प्रहरी डिएसपी राजन चापागाईंको टोली सोरुङ्ग छविसेमै रहेर अनुसन्धान गरेको थियो। “अनुसन्धानपछि बिहीबार मात्रै उनिहरू फर्किएका हुन”, जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी एसपी हरिहरनाथ योगीले भने।
योगीका अनुसार घटना भएको राति अभियुक्त मगर महिला सुतेको स्थानमा पुगेका थिए। त्यसपछि उनीहरूबीच विवाद भएको र रिसमा अभियुक्तले खुकुरी प्रहार गरेको प्रहरीको भनाइ छ।
अभियुक्तले घरबाट नै खुकुरी बोकेर गएको प्रहरीले जनाएको छ। आपसी विवाद भएपछि पटकपटक खुकुरी प्रहार गरेको र सो क्रममासँगै सुतिरहेका छोरा आरुस उठेर कराउन थालेपछि छोरालाई पनि खुकुरी प्रहार गरी हत्या गरेका अनुसन्धानबाट पत्ता लागेको प्रहरीको भनाइ छ।
“प्रारम्भिक अनुसन्धान मात्रै हो आज हामीले ७ दिनको म्याद थपेर थप अनुसन्धान थालेका छौँ”, एसपी योगीले भने, “घटनापश्चात अभियुक्तले प्रयोग गरेको खुकुरी, मृतक महिलाको मोबाइल, अभियुक्तले घटनापश्चात नजिकैको खोलामा धोएर सुकाएको हाफपाइन्ट बरामद गरिएको छ।”
प्रहरीका अनुसार अभियुक्त भोलिपल्ट बिहान घटनास्थलमा पनि आएका थिए। कटारी अस्पत्तालमा शव परीक्षणका समयमा स्थानीयसँग आएको र दाहसंस्कारमा उपस्थित भएकाले तत्काल शङ्का गर्नुभन्दा आवश्यक प्रमाण पुराउन समय लागेको अनुसन्धानमा खटिएका प्रहरी डिएसपी राजन चापागाईंले बताए।
मृतक महिलाका श्रीमान् अशोक थापा तीन वर्षअघि नै कान्छी श्रीमती लिएर भारततिर गएका थिए। अभियुक्त मगरका श्रीमती, एक छोरा र छोरी छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement