गान्तोक: विद्या भारती अखिल भारतीय शिक्षा संस्थानको अखिल भारतीय कार्यकारिणी बैठक हिमाचल प्रदेशको शिमलामा शुरू भएको छ। २० सेप्टेम्बरदेखि शुरू भएको उक्त बैठक आगामी २२ सेप्टेम्बरमा समाप्त हुनेछ।
यस बैठकमा देशभरिबाट पदाधिकारीहरूले भाग लिइरहेका छन्। उक्त बैठकमा विद्या भारती सिक्किमका प्रान्त महामन्त्री विजय कुमार शर्मा सहभागी बनेका छन्।
विद्या भारती सिक्किमका संयोजक मोहन शर्माले जानकारी गराए अनुसार, बैठकमा विद्या भारतीको पालक अधिकारी राष्ट्रिय स्वयंसेवक संघका सह सरकार्यवाह डा. कृष्ण गोपालको विशेष उपस्थिति रहनेछ। बैठकमा संगठनको कार्यको समीक्षा, नयॉं राष्ट्रिय नीति कार्यान्वयन पक्ष, विस्तार विकास, आगामी योजना, संघको १०० वर्ष पूरा भइरहेको अवसरमा कार्य योजना आदि विषयहरूमाथि चर्चा हुनेछ।
उनले सिक्किममा विद्या भारतीको कार्यको बारेमा पनि अधिकारीहरूसॅंग चर्चा हुने बताएका छन्। आज बैठकको पहिलो दिन राष्ट्रिय शिक्षा नीति अनुरूप पाठ्यक्रममा वर्णित भारतीय ज्ञान परम्परा आधारित ‘पंचपदी अधिगम पद्धति: तत्त्व एवं व्यवहार’ पुस्तक विमोचन गरियो। उक्त पुस्तक विद्या भारतीले प्रकाशित गरेको संयोजक शर्माले बताएका छन्।