रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना नागरिकलाई कार्यालयमा काम गर्दा पनि समय मिलाएर शारीरिक सम्बन्ध राख्न अपिल गरेका छन्। पुटिनले भने, ‘रुसी नागरिकको सुरक्षा हाम्रो प्राथमिकता हो। रुसीहरूको भविष्य अब तिनीहरूको संख्यामा निर्भर गर्दछ।‘ रुसका स्वास्थ्य मन्त्री डा येभगेनी शेस्टोपालोभले कामको दबाव सन्तान नहुनुको बहाना हुननसक्ने बताए। कामको बीचमा ब्रेक लिएर पनि शारीरिक सम्बन्ध राख्न सकिने उनले बताए। ब्रिटिश पत्रिका मेट्रोको रिपोर्टका अनुसार पुटिनले देशमा घट्दो जन्मदरलाई सच्याउनका लागि यस्तो बताएका हुन्। वास्तवमा, रूसमा जन्म दर प्रति महिला १.५ नानी छ। देशको जनसंख्या कायम राख्न जन्मदर प्रति महिला २.१ नानी हुनुपर्छ। युक्रेन विरुद्ध युद्ध शुरु भएदेखि, रुसका १० लाख नागरिकले देश छोडेका छन्। यसमा अधिकांश युवा समूहका व्यक्तिहरू समावेश छन्।
पुटिनले देशको घट्दो जन्मदरबारे चिन्ता व्यक्त गरेको यो पहिलो पटक होइन। यसअघि गत वर्षको डिसेम्बरमा पुटिनले रुसी महिलालाई कम्तीमा ८ जना नानी जन्माउन आग्रह गरेका थिए। ठूला परिवारहरूको परम्परा रूसी घरहरूमा पेश गर्न आवश्यक भएको उनले बताएका थिए। पुटिनले भनेका थिए, ‘धेरै समुदायमा अझै पनि धेरै सन्तान जन्माएर परिवार बढाउने र परम्परालाई कायम राख्ने चलन छ। हामीले याद गर्न जरुरी छ कि हाम्रा हजुरआमाको पालामा अरेक घरमा ७-८ जना बालबालिका थिए।‘ रुसी सरकारी तथ्यांकअनुसार रुसमा जन्मदर सन् १९९९ यताकै न्यून स्तरमा छ। जनसंख्याको हिसाबले विश्वका शीर्ष १० देशको सूचीमा रहेको रुसमा यस वर्षको जुन महिनामा १ लाखभन्दा कम बालबालिकाको जन्म भएको छ। सन् २०२४ को पहिलो आधामा करिब ६ लाख बालबालिकाको जन्म भएको थियो। यो गत वर्षको तुलनामा १६ हजार कम हो। रुसमा यस वर्षको जनवरीदेखि जुनसम्म ३ लाख २५ हजारभन्दा बढीको मृत्यु भएको छ। जसका कारण देशको जनसङ्ख्या निरन्तर घटिरहेको छ। क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले जुलाईमा भनेका थिए, ‘यो अवस्था देशको भविष्यका लागि विनाशकारी हो।‘ रुसको उत्तर-पूर्वी क्षेत्र कारेलियाका अधिकारीहरूले आमा बन्ने तयारीमा रहेका कलेज विद्यार्थीहरूका लागि नयाँ योजनाहरू जारी गरेका छन्। यसअन्तर्गत स्थानीय कलेज तथा विश्वविद्यालयमा स्वस्थ सन्तान जन्माउने २५ वर्ष मुनिका छात्रालाई १ लाख रूबल दिइनेछ। यसअघि सन् २०२२ मा पुटिनले १० सन्तान जन्माउने महिलालाई ‘मदर हिरोइन’ नामको अवार्ड दिने घोषणा गरेका थिए। यो पुरस्कार दोस्रो विश्वयुद्धका बेला पनि महिलालाई दिइएको थियो। त्यतिबेला पनि रुसको जनसंख्या तीब्र गतिमा घटिरहेको थियो। सन् १९९१ मा सोभियत संघ टुटेपछि रुसले यो अवार्ड दिन बन्द गरेको थियो।