चेन्नई: भारतले यहाँको एमए चिदाम्बरम स्टेडियम (चेपक)-मा बंग्लादेशविरुद्ध जारी पहिलो क्रिकेट टेस्ट म्याचमा जीतको सम्भावनालाई मजबूत बनायो। आज म्याचको दोस्रो दिन भारतले बंग्लादेशको पहिलो ईनिंग्स १४९ रनमा समेटेपछि खेल समाप्त हुँदासम्म आफ्नो दोस्रो ईनिंग्समा ३ विकेटमा ८१ रन बनायो। यसरी भारतसँग अहिले ३०८ रनको मजबूत बढ़त रहेको छ अनि हातमा अझ ७ विकेट रहेको छ। शुक्रवारको खेल समाप्त हुँदासम्म शुभमन गिल ३३ र रिषभ पन्त १२ रनमा अविजित थिए। आजको दिन बलरहरूका निम्ति फाइदाजनक रह्यो अनि पूरा दिनको खेलमा जम्मा १७ विकेटको पतन भयो। बिहीवारको स्कोर ६ विकेटमा ३३९ रनदेखि अघि खेल्दै आज बिहान भारतको पहिलो ईनिंग्स ३७६ रनमा समाप्त भयो। शतक बनाएर खेलिरहेका रविचन्द्रन अश्विन आज ११३ रन बनाएर आउट भए। उनलाई असल साथ दिने जडेजाले ८६ रन बनाए। आज सर्वप्रथम जडेजा आउट भए। यसरी ३४३ रनमा सातौं विकेटको पतनपछि भारतको पहिलो ईनिंग्स समाप्त हुन अधिक समय लागेन। बंग्लादेशका बलरहरूमा हसन महमूदले सर्वाधिक ५ लिए। यसरी तस्कीन अहमदले पनि ३ विकेट हासिल गरे। त्यसपछि बंग्लादेशको पहिलो ईनिंग्स केवल १४९ रनमा समाप्त हुँदा भारतलाई पहिलो ईनिंग्सको आधारमा २२७ रनको महत्त्वपूर्ण बढ़त हासिल भयो। बंग्लादेशको पहिलो ईनिंग्सलाई भारतीय पेस बलरहरूले माटोमा मिलाए। जसमा जसप्रीत बुमराहले सर्वाधिक ४ विकेट लिए। यसरी उनका साथी मोहम्मद सिराज र आकाश दीपले २-२ विकेट लिए। अन्य दुईवटा विकेट रविन्द्र जडेजाले हासिल गरे। बंग्लादेशको पहिलो ईनिंग्समा शाकिब अल हसनले ३२, मोहदी हसन मिराजले अविजित २७ र लिटन दासले २२ रन बनाए। त्यसपछि भारतले बंग्लादेशलाई फलो अन् नगरेर आफ्नो दोस्रो ईनिंग्स शुरु गर्ने फसेला गऱ्यो। भारतको दोस्रो ईनिंग्समा शुरुवात राम्रो नरहे पनि गिलले टीमलाई सम्हालेर राखे। कप्तान रोहित शर्मा ५, यशस्वी जयसवाल १० र विराट कोहली १७ रनमा आउट भए।