भद्रपुर: देशभर संविधान दिवस मनाइरहँदा दलित समुदायले भने माइतीघर मण्डलाबाट ‘लोकतन्त्र आयो दलितलाई खोइ? संविधान आयो दलितलाई खोइ?’ जस्ता प्रश्न गर्दै राज्यको ध्यानाकर्षण गराउने कोसिस गरेको छ। संविधान दिवसमा मात्र होइन, राजनीतिक नियुक्तिमा दलित खोइ? भन्ने प्रश्न पनि उनीहरूले गर्दै आएका छन्। विगत ४५ दिनदेखि माइतीघर मण्डलामा फलामे सिक्रीमा बाँधिएर धर्नामा बसेको दलितका लागि दलित अभियान नेपालले संविधान दिवसका अवसरमा जनप्रदर्शनसहित संविधान कार्यान्वयन र मानव अधिकारको प्रत्याभूतिको पनि माग गरेको छ।
संयोजक खगेन्द्र सुनारसहितका युवाले चलाइरहेको ‘दलितलाई खोइ?’ अभियानले माइतीघर मण्डलादेखि नयाँबानेश्वर चोकसम्म जनप्रदर्शनसहित कोण सभा गरेको हो। सरकार निर्माण तथा राजनीतिक नियुक्तिमा दलित समुदायलाई बहिष्करण गरिएको भन्दै युवाले सडकधर्ना सुरु गरेका थिए।
‘दलितलाई खोइ?’ लेखिएको ब्यानरमा आन्दोलन गरिरहेका दलित युवाले सरकार र राजनीतिक नियुक्तिमा दलितको समानुपातिक समावेशीको माग गरेका छन्। मन्त्रीपरिषद्मा क्याबिनेट मन्त्रीमा दलितलाई नसमेटिएको र सरकारले १८ जना राजदूत नियुक्तिको सिफारिस गर्दा एक जना पनि दलित नपारिएपछि अभियानले मण्डलमा सडकधर्ना गर्दै आएको थियो। अभियानका संयोजक सुनारले भने, “लोकतन्त्र आयो दलितलाई खोइ? नयाँ सरकार आयो दलितलाई खोइ ? दलितका अधिकार कटौती गर्न पाइँदैन। सरकारमा र राजदूत नियुक्तिमा दलितको समानुपातिक सहभागिता हुनु पर्छ।”
गुरुबारको आन्दोलनमा बाग्लुङ, रुपन्देही, जाजरकोट, सुर्खेत, दैलख, बाँकेलगायतका ६० जिल्लाका दलित समुदायको सहभागिता रहेको सहसंयोजक रेम रसाइलीले जानकरी दिए। फोटो: देवेन्द्र के क्षेत्री