भद्रपुर: कोशी प्रदेश सांसद् उमाकान्त गौतमले मिक्लाजुङ गाउँपालिकामा खानेपानीको समस्या अन्त्यका लागि एकिकरण आवश्यक रहेको औल्याए।
मिक्लाजुङ गाउँपालिका – ८ मा मधुमल्ला खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको छैठौँ साधारणसभालाई सम्बोधन गर्दै उनले गाउँपालिकाभित्र रहेका सबै खानेपानी संस्थालाई एकिकरण गरेर दुई वटा संस्था बनाउनुपर्नेमा जोड दिए। उनले मिक्लाजुङमा नुनसरी खोला पूर्व एउटा र पश्चिम एउटा गरि दुई वटा खानेपानी संस्था निर्माण गर्नुपर्ने बताउदै त्यसका लागि आवश्यक ऐन निर्माण गर्नका लागि गाउँपालिकालाई सुझाब दिए। गाउँपालिका भित्रका खानेपानी आयोजनामा प्रदेश र संघीय सरकारले करोडौँ बजेट बिनियोजन गरेपनि खानेपानीको समस्या समाधान हुन नसकिरहेको भन्दै उनले टुक्रे आयोजनामा बजेट खर्च हुँदा आयोजना सम्पन्न हुन नसकेको उल्लेख गरे। साधारणसभामा मिक्लाजुङ गाउँपालिकाका उपाध्यक्ष दिनेश पौडेलले खानेपानी आयोजनालाई एकिकरण गर्नेगरि गाउँपालिका लागिपरेको बताउदै त्यसका लागि आम उपभोक्ताहरु पनि जागरुक हुन आवश्यक रहेकोमा जोड दिए। साधारणसभाको अवसरमा संस्थाका संस्थापक कार्यसमितिलाई सम्मान् समेत गरिएको थियो। साधरणसभा संस्थाका अध्यक्ष बालकुमार भण्डारीको अध्यक्षतामा भएको थियो। मधुमल्ला खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले मिक्लाजुङ ७ र ८ बडाका साथै इलामको चुलाचुली गाउँपालिका ६ का बासिन्दालाई खानेपानी वितरण गर्दै आएको छ।