गान्तोक: स्वीकृति प्रदान गरेको ‘एक राष्ट्र एक चुनाउ’ को सिफारिशप्रति सिक्किम सरकारले आफ्नो समर्थन जनाएको छ।
मुख्यमन्त्री प्रेमसिंह तामाङले बिहिवार आफ्नो आधिकारिक फेसबुक पेजमार्फत यस आसयको जानकारी दिएका छन्।
मुख्यमन्त्री तामाङले लेखेका छन्, ‘केन्द्रिय मन्त्रिपरिषद्ले हालमा स्वीकृत गरेको ‘एक राष्ट्र एक चुनाउ’ प्रणालीलाई हामी दृढतापूर्वक समर्थन गर्छौं, जसले लोकसभा र विधानसभाको चुनाउ एकैसाथ गर्ने र त्यसपछि १०० दिनभित्र नगर निकाय र पञ्चायतको निर्वाचन गराउने परिकल्पना गरेको छ, जुन पूर्व राष्ट्रपति रामनाथ कोविन्दको नेतृत्वमा गठित एक प्यानलद्वारा पेश गरिएको रिपोर्टमा आधारित छ।’
मुख्यमन्त्रीले प्रधानमन्त्री नरेन्द्र मोदीको दृष्टिकोणको पनि हार्दिक सराहना गर्दै प्रधानमन्त्रीले यसलाई हाम्रो लोकतन्त्रलाई अझ जीवन्त र सहभागितामूलक बनाउने दिशामा एक महत्त्वपूर्ण कदम बताएको उल्लेख गरेका छन्। उनले देशभरि एकैसाथ चुनाउ गराउॅंदा आर्थिक दक्षता, सुव्यवस्थित चुनावी प्रयास र सुशासनका लागि एकीकृत दृष्टिकोण लगायतका महत्त्वपूर्ण फाइदाहरू हुने विचार व्यक्त गरेका छन्।
यस अतिरिक्त, यसले मतदाताहरूका लागि निर्वाचन प्रक्रियालाई सरल बनाउँछ, जसले गर्दा धेरै सहभागिता, तीव्र आर्थिक वृद्धि र राष्ट्रको अर्थतन्त्रमा स्थिरता बढ्नेछ भनी मुख्यमन्त्री तामाङले बताएका छन्।