गान्तोक: भारतीय कृषि अनुसन्धान केन्द्र र पूर्व सिक्किमको कृषि विज्ञान केन्द्रले गान्तोक र पाकिम जिल्लाअन्तर्गत रिनाक र याङ्थाङका विभिन्न वार्डहरुमा खरिफ दालको गुणस्तरीय बीउ उत्पादन सम्बन्धमा पाँच दिवसीय तालिम तथा प्रदर्शन कार्यक्रम सम्पन्न गऱ्यो। यस अवसरमा कृषकहरुलाई विभिन्न प्रकारका बीउ पनि वितरण गरियो। यसको उद्देश्य दिगो कृषि अभ्यासहरूलाई विस्तार गर्नु रहेको थियो। यसअन्तर्गत गुणस्तरीय दालको बीउ उत्पादनमा स्थानीय कृषकहरुलाई क्षमता अभिवृद्धि गर्ने कार्य पनि सम्पन्न गरिएको थियो। सिक्किमको जैविक खेतीतर्फ कृषकहरुलाई आकर्षिच गराउने लक्ष्य पनि राखिएको थियो। कार्यक्रममा मकै खेतीयोग्य क्षेत्रको सदुपयोग गरी कम उत्पादन हुने उत्पादलाई कम गरेर दाल बालीको उत्पादन बढाउने लक्ष्यबारे जानकारी दिइएको थियो। गुणस्तरीय बीउ उत्पादन दिगो कृषि, जैविक विविधता संरक्षण र स्थानीय पर्यावरण अनुकूल उच्च गुणस्तरको बीउको आपूर्तिमार्फत खाद्य सुरक्षा सुनिश्चित गर्ने महत्त्वपूर्णबारे स्रोत वक्ताहरुले जानकारी गराएका थिए। वरिष्ठ वैज्ञानिक डा. प्रकास शर्माको सक्रियतामा भएको कार्यक्रममा पूर्व सिक्किमका विभिन्न स्थानबाट १३१ कृषकहरु सहभागी थिए। तीमद्ये अधिकांश महिलाहरूको सहभागिताले अर्को आकर्षण थपेको थियो। कार्यक्रममा स्रतवक्ता डा. जेके सिंहले दाल बालीको महत्वलाई जोड दिँदै यसको जैविक उत्पादनमा काम गर्न सके आर्थिक लाभ लिन सक्ने बताए। उनले राज्यमा जैविक बीउको उच्च मागलाई ध्यानमा राख्दै कृषकहरुको जीविकोपार्जन र आत्मनिर्भरताका लागि काम गर्न सिकेन बताए। अर्का स्रोतवक्ता बोनिफेस लेप्चाले दैनिक जीवनमा दालको महत्वमाथि बोल्दै जैविक कालो चाना र मौसमी तरकारीको उन्नत उत्पादन प्रविधिमा कृषकहरुलाई सहयोग गर्न तयार रहेको बताए। विशेषज्ञ डा. स्मृति रञ्जन प्रधानले दाल उत्पादनमा चुनौतिहरू र असल कृषि अभ्यासहरूबारे जानकारी गराइन्।