गान्तोक: सिक्किम इन्स्पायर्स पहलअन्तर्गत आर्थिक समावेशी कार्य योजनाको पहिलो जिल्लास्तरीय समितिको बैठक आज सिच्चेस्थित जिल्ला प्रशासनिक केन्द्रमा सम्पन्न भयो। उक्त बैठकको अध्यक्षता गान्तोकका जिल्लापाल तुषार निखारेले गरेका थिए। बैठकमा सिक्किम इन्स्पायर्सको उद्देश्यहरूबारे जानकारी गराइएको थियो। सिक्किम इन्स्पायर्स कार्यक्रम सिक्किम सरकारको एक महत्वाकांक्षी पहल रहेको र विश्व ब्यांकद्वारा महिला र युवाहरूको आर्थिक विकास र आत्मनिर्भरताको लागि सञ्चालन गरिएको जानकारी जिल्लापालले दिए। कार्यक्रमको मुख्य उद्देश्य आर्थिक समावेशी कार्य योजनाको विकास र कार्यान्वयन रहेको थियो। योजनाहरूले सरकारी योजनाहरू र अन्य कार्यहरुमा युवाहरुलाई समावेश सुनिश्चित गर्दै, सरकारी स्तरहरूमा आर्थिक समावेशी गतिविधिहरू कार्यान्वयन गर्नु रहेको छ। मुख्यगरि आर्थिक अवस्था कमजोर भएकालाई योजनामा जोडने जसमा विशेष गरी महिला र युवाहरूलाई सामेल गराउने लक्ष्य राखिएको जानकारी गराए। यस योजनाले सामाजिक उत्तरदायित्व संयन्त्रलाई बलियो बनाउने आशा गरिएको छ। योजनाहरू विशेष गरी सीमान्तकृत मानिसहरुलाई लिएर तयार गरिएको हो। यसअन्तर्गत अनेक अवसरहरु उपलव्ध गराइने तय गरिएको छ। आजको बैठकमा ग्रामीण विकास विभाग, सिक्किम इन्सपायर्स, जिल्ला प्रशासनका अधिकारीहरु,विभिन्न नोडल अधिकारीहरु र स्रोतवक्ताहरुको सहभागिता थियो।