चिनियाँ नाकाबाट दिनहुँ ५० ट्रक सामान भित्रिँदै, लक्ष्यभन्दा १५८ प्रतिशत बढी राजश्व संकलन

IMG-20240919-WA0296

भद्रपुर: दशैँतिहार लगायत चाडपर्व नजिकिएसँगै उत्तरी छिमेकी चीनसँगको नाकामा चाप बढ्न थालेको छ। नेपाल-चीन तातोपानी र केरुङ नाका हुँदै मालबाहक ट्रक तथा कन्टेनरहरूमा चाडपर्वलक्षित सामान नेपाल भित्रिने क्रम बढेको हो।
सेप्टेम्बर देखि नै ती नाकामा नेपाल भित्रिने मालबाहक गाडीहरूको चाप बढेको थियो। मालबाहक ट्रक तथा कन्टेनरहरू तातोपानी भन्सार हुँदै नेपाल भित्रिने क्रम जारी छ। तातोपानी भन्सारका कार्यालयका अनुसार २०२४ को जुलाई -अगस्तमा १०-१२ वटा मात्रै मालबाहक भित्रिने गरेकोमा अहिले २० भन्दा बढी ट्रक तथा कन्टेनरबाट सामान आइरहेको छ।
चाडपर्व लक्षित सामानहरू चीनबाट धमाधम आइरहेको र नाकामा थप चाप बढिरहेको तातोपानी भन्सार कार्यालयका सूचना अधिकारी सूर्यप्रसाद काफ्लेले जानकारी दिए।
खासगरी चीनको खासातर्फ सुरुङमार्ग पुनःनिर्माणको काम चलिरहेकाले नेपाल आउने मालबाहक कन्टेनर आवतजावत कहिले खुलाउने त कहिले बन्द गर्ने गरिएको छ। तर, मालबाहक ट्रक नेपाल पठाउन चिनियाँ पक्षबाट सहजीकरण भइरहेको काफ्लेले बताए। चीनको खासातर्फ सडक तथा सुरुङमार्ग पुननिर्माण काम भइरहेकाले त्यहाँबाट आउने मालबाहक सामान भन्सारमा आइपुग्न निकै ढिलाइ हुने गरेको भन्सारका अधिकारीहरू बताउँछन्।
‘अहिले दैनिक २०-२२ वटाका दरले भन्सारमा चीनबाट कन्टेनरहरू आइरहेका छन्,’ काफ्लेले भने, ‘कहिलेकाहीँ ३० वटासम्म पनि मालबाहक कन्टेनर आइरहेको हुन्छ। चिनियाँ पक्षले सामान पठाउन सहजीकरण गरिरहेको छ।’ उनका अनुसार चीनबाट खासगरी चाडपर्वलक्षित लत्ताकपडा, फलफूल, खाद्यान्न र पेयपदार्थलगायत सामान बोकेका ट्रक तथा कन्टेनरहरू बढी मात्रामा भित्रिने गरेका छन्।
नेपालीले मान्ने दशैँ-तिहारको छेकोमा रसुवामा पर्ने केरुङ नाकामा पनि उस्तै चहलपहल बढाएको छ। सो नाका हुँदै हाल ३५ वटासम्म मालबाहक कन्टेनरहरू भित्रिइरहेको छ।
अन्य बेला १५ देखि २० वटासम्म मालबाहक कन्टेनर भित्रिने गरेकोमा चाडपर्व लागेसँगै भित्रिने मालवाहक गाडीको सङ्ख्या र चाप बढेको रसुवा भन्सार कार्यालयका सूचना अधिकारी रविन्द्रप्रसाद प्याकुरेलले बताउछन्।
व्यवसायीहरूले वर्षभर बिक्री गर्ने चिनियाँ सामान दशैँअघि नै आयात गर्ने गरेका छन्। चाडपर्वका बेला मात्र चिनियाँ नाकामा चाप बढ्ने गरे पनि अरू बेला भने आयात घट्ने गरेको नेपाल समुन्द्रपार निकासी पैठारी संघका अध्यक्ष विनोदकुमार सेठियाले बताउछन्।
चिनियाँ सीमा नाकामा अवरोध र नेपालतर्फ सडकमार्गको अवस्था खराब हुँदा व्यवसायीलाई मालसामान आयात गर्न समस्या हुँदै आएको सेठियाको भनाइ छ।
गत आर्थिक वर्ष २०२३/२०२४ मा तातोपानी भन्सार कार्यालयले लक्ष्यभन्दा १५८ प्रतिशत बढी राजश्व सङ्कलन गरेको थियो। सो आर्थिक वर्षमा ८ अर्ब ४२ करोड रुपैयाँ राजश्व सङ्कलन गर्ने लक्ष्य लिएकोमा १३ अर्ब ३६ करोड रुपैयाँ राजश्व उठेको थियो। चालु आर्थिक वर्षमा २१ अर्ब ७३ करोड रुपैयाँ राजश्व सङ्कलन गर्ने लक्ष्य लिइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement