भद्रपुर: विराटनगरस्थित माछापुच्छ्रे सहकारीका नयाँ र पुरानो सञ्चालक समितिमा रहेकाहरु विरुद्ध पक्राउ पुर्जी जारी भएको छ। प्रहरीले अदालतबाट सहकारीका सञ्चालक र कर्मचारी विरुद्ध अनुसन्धान गरेर मुद्दा चलाउने उद्देश्य अनुरुप पक्राउ पुर्जी लिइएको हो।
मोरङ प्रहरीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक ज्ञानेन्द्र बस्नेतले संलग्न भनेर देखिएकाहरु विरुद्ध पक्राउ पुर्जी लिइएको हो।अनुसन्धानका क्रममा संलग्न देखिएका विरुद्ध नै पक्राउ पुर्जी लिएर खोजतलास सुरु गरिएको उनले बताए। सहकारीका अध्यक्ष अमलेश कर्ण यस अगाडी नै पक्राउ परिसकेका छन्। उनी पक्राउ परेपछि अब सञ्चालक सञ्जय थापा, कोषाध्यक्ष राधादेवी लिम्बू र ब्यवस्थापक अमित कार्की बिरूद्ध पक्राउ पुर्जी लिएर प्रहरीले खोजतलास सुरु गरेको हो। थापा तरुण दलका नेता हुन्। उनी अहिले पनि विराटनगरमा खाईखेलो गरिरहेका छन्। पुरानो समितिले संस्था डुबाएको भनेर नयाँ समिति आएको थियो। पक्राउ परेका कर्णले नयाँ समितिमा आएकाहरुको समेत संलग्नतामा सहकारी डुबेको बताएपछि उनीहरु समेत मुछिएका छन्।
प्रहरीले अहिलेका सञ्चालक उत्तम ढुंगेल, सनातन मण्डल, तीर्थप्रसाद यादव, श्याम कोइराला र लेखा समितिका पङ्कज बर्मा विरुद्ध पनि पक्राउ पुर्जी लिइएको छ। त्यहि सहकारीका सल्लाहाकार रहेकाहरुले बचतकर्तालाई आश्वस्त पार्ने उद्देश्यले पुरानो सञ्चालकको सम्पति रोक्का गराएका थिए। अनि सहकारी अझै सञ्चालनमा रहेको भन्दै विवादलाई साम्य पार्ने उद्देश्य राखेको खुलेको छ। एकजना बचतकर्ताका अनुसार पुरानो सञ्चालकका अध्यक्ष र नयाँ भनिएको सञ्चालकका अध्यक्षको सधैं उठबस मात्रै नभई नाराजुलुश र भ्रष्टचार विरुद्धका अभियानका अभियन्ता भएर हिड्ने गरेकोले संलग्नता रहेको अनुमान सबैले गरेकै छन्।
बिगत १५ वर्षदेखि अध्यक्ष कर्ण, सचिव थापा र ब्यवस्थापक कार्की नै त्यहाँ हालिमुहाली गर्दै आएको देखिएको छ। कार्कीले सहकारीमा बचत भएको करिब ५ करोड रूपैयाँ आफ्नो निजी खातामा जम्मा गरेको छानविनबाट देखिएको हो। सहकारीको अझै चार करोड बजारमा रहेको भन्दै नयाँ सञ्चालक समितिले त्यसैलाई परिचालन गरेर सञ्चालन गर्ने तयारी गरेका थिए। तर, बचतकर्ताले नै नयाँ भनिएको समितिले पुरानो सञ्चालक समितिलाई ओत दिएर बचाउने उद्देश्य राखेको भन्दै प्रहरीमा उजुरी दिएका छन्।