गेजिङ: सिक्किमको पुरानो राजधानी योक्सममा पाङ ल्हाब सोल भव्यतासित पालन गरियो। ज्ञात रहोस्, संरक्षक देवता कञ्चनजङ्घा पर्वतको सम्मान र लेप्चा अनि भोटिया समुदायबीचको प्राचीन भातृत्व सन्धिको सम्झनामा ऐतिहासिक पाङ ल्हाब सोल पर्व पालन गरिन्छ। यो सिक्किमको प्रमुख पर्वमध्ये एक हो। यसअन्तर्गत आज सिक्किमको पुरानो राजधानी योक्सममा परम्परागत पर्व उत्साहपूर्वक पालन गरिएको थियो। कार्यक्रममा सिक्किम सरकारका पर्यटन मन्त्री तथा क्षेत्र विधायक छिरिङ टी भोटिया मुख्य अतिथिका रुपमा उपस्थित थिए। उनले सम्बोधन गर्दै सिक्किमको सांस्कृतिक परम्परा संरक्षणको महत्त्वबारेमा उल्लेख गरे। युवा पुस्तालाई पाङ लाब सोल पर्वको विरासतलाई अगाडि बढाउन आग्रह पनि गरे। मन्त्री भोटियाले महोत्सवलाई सफल पार्नमा आयोजक समितिको भूमिकाको प्रशंसा गरे। मन्त्री भोटयाले पर्यटन विभागको सिक्किम इन्सपार्यस पहलअन्तर्गत राज्यको पर्यटन पूर्वाधारहरू बृद्धि गर्ने उद्देश्यका लागि प्रमुख परियोजनाहरूबारे पनि जनाए। उनले स्टार्टअपहरूको लागि ५० प्रतिशत सहुलियतपूर्ण ऋण प्रदान गर्दै उन्नति योजना मार्फत युवा उद्यमीहरूको लागि राज्य सरकारको कदमबारे पनि बताए। सद्भाव र एकताको प्रतीक सिक्किमी भोटिया समुदायले प्रस्तुत गरेको परम्परागत नृत्यले सबैलाई आकर्षित पारेको थियो। कञ्चनजङ्घा राष्ट्रिय निकुञ्ज क्षेत्रमा मनाइने योक्सामको पाङ ल्हाब सोल उत्सवले सिक्किमको सांस्कृतिक र प्राकृतिक सम्पदाबीचको गहिरो सम्बन्धलाई देखाएको थियो। पाङ ल्हाब सोल उत्सव समितिले विभिन्न सरकारी विभाग, स्थानीय गैरसरकारी संस्था र ग्राम पञ्चायतको सहयोगमा कार्यक्रम आयोजना गरेको थियो। कार्यक्रममा जिल्ला पञ्चायत अध्यक्ष डीएस लिम्बू, योक्समका महकुमा अधिकारी चन्दनसिंह सुब्बा, ग्राम विकास अधिकारीहरुस विभिन्न विभाहीय अधिकारीहरु, ग्राम पञ्चायतहरू र स्थानीय मानिसहरुको उपस्थिति थियो। यसबीच पवित्र नोर्बुगाङ छोर्तेन गुम्बा परिसरमा धार्मिक गुरुहरूद्वारा रिवो साङ पूजा सम्पन्न गरिएको थियो। त्यसपछि दिनभरिनै विभिन्न पारम्परिक एवं सांस्कृतिक कार्यक्रम आयोजन गरियो। खेन्पो रिन्जिङ छोवाङले सिक्किमको सम्पदामा पाङ-ल्हाब सोलको सांस्कृतिक महत्त्वबारे जानकारी दिए। प्रत्येक वर्ष मनाइने यो पर्वले छोग्याल राज्यको समयदेखि राज्यको संरक्षक मानिने पवित्र पर्वत कञ्चनजङ्घालाई सम्मानसाथ पूजा गरिने बताए। कार्यक्रममा सिक्किमको समृद्ध सांस्कृतिक विविधता झल्काउने भोटिया, लेप्चा र नेपाली समुदायका परम्परागत नृत्य र सांगीतिक कार्यक्रम प्रस्तुत गरिएको थियो। उक्त अवसरमा स्थानीय संघ संस्था तथा विशिष्ट व्यक्तित्वहरुलाई सम्मानित गरिएको थियो।