कालेबुङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको कालेबुङ ३५ नम्बर बोङ- दुर्पिन समष्टि समितिलाई विघटन गरिएको छ। तीन दिवसीय कालेबुङ भ्रमणमा आएका गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन प्रमुख कार्यपाल तथा भागोप्रमो अध्यक्ष अनित थापाले साङ्गठनिक चर्चा-परिचर्चा पछि ३५ नम्बर समष्टि समिति विघटन भएको घोषणा गरे। समष्टि समिति पूर्ण रूपमा विघटन गरेको घोषणासितै समष्टिका पूर्व महासचिव पंकज छेत्रीलाई समष्टि संयोजक नियुक्त गरिएको पनि तिनले घोषणा गरे। स्मरण रहोस्, हालै सम्पन्न जीटीए चुनाउमा ३५ बोङ- दुर्पिन समष्टिबाट पंकज छेत्रीलाई भागोप्रमो-ले चुनावी मैदानमा उतारे तापनि तिनी दुई सय मतले पराजित बनेका थिए। अर्कोतिर, समष्टि संयोजकको पदभार सुम्पिएकोमा पंकज छेत्रीले पार्टी तथा पार्टी अध्यक्ष अनित थापाप्रति आभार व्यक्त गरेका छन्।











