दार्जिलिङ: महिलाहरूको सुरक्षालाई प्राथमिकतामा राख्दै दार्जिलिङ जिल्ला पुलिसद्वारा आजदेखि पिङ्क पेट्रोल (महिला सुरक्षा गश्ती) आरम्भ गरियो। महिला सुरक्षा केन्द्रित उक्त गश्ती वाहिनीलाई हरियो झण्डा देखाएर उत्तर बंगाल आईजीपी राजेश कुमार गुप्ताले फ्लाग अफ् गरे। पिङ्क पेट्रोल तथा महिला सुरक्षा गश्तीले जिल्लाका कलेज, ट्रेनिङ सेण्टर अनि महिला होस्टेल परिसर क्षेत्रमा निगरानी राख्नुको साथै प्रतिकूल स्थितिमा महिलाहरूलाई सुरक्षा प्रदान गर्ने आइजीपी गुप्ताले बताएका छन्।

दार्जीलिङ जिल्ला पुलिस मुख्यालय दार्जिलिङको डालीमा सम्पन्न फ्लाग अफ् समारोहपछि पत्रकारहरूसित कुराकानी गर्दै उनले अर्कोतिर जिल्लाका संवदेनशील क्षेत्रहरूमा सीसी क्यामेरामार्फत् निगरानी राखिने बताए भने मिसिङ पुलिस पोर्टलमार्फत निखोज महिलाहरूको उद्धार कार्यसँगै तस्करीलगायत अपहरणकर्ताहरूलाई कठोर सजाय दिलाउन पुलिस प्रशासन तत्पर रहेको जानकारी गराएका छन्।