भद्रपुर: मोरंगको बिराटनगरस्थित नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले क्यान्सर रोगको उपचार सेवा विस्तार गरेको छ। २०२४ सेप्टेम्बर १७ मा एक औपचारिक कार्यक्रम गरी नव निर्मित भवनमा नोवेलले रेडिएसन थेरापी सेवा सुरु गरेको हो।
तीन अर्व लगानीमा रेडिएसन थेरापीका लागि बङ्कर सहितको भवन, आवश्यक जमिन र अत्याधुनिक उपकरणहरुको व्यवस्था गरिएको नोवेल क्यान्सर अस्पतालमा अव दैनिक बहिरङ्ग अर्थात ओ. पि. डि. सेवा, डे केयर, भर्ना गरी उपचार गरिने अन्तरङ्ग सेवा, केमो थेरापी, रेडिएसन थेरापी, शल्यक्रिया लगायतका सम्पूर्ण सेवाहरु उपलव्ध हुने छन्। भेरिएन कम्पनीको एज नामक रेडिएसन थेरापीको अत्याधुनिक उपकरण, ब्राकीथेरापी, सिमेन्स कम्पनीको सोमाटोम गो सिम आरटिसिटी मेशिन लगायत अत्याधुनिक उपकरणहरुबाट रेडिएसन थेरापी सुरु भए पछि नोवेलले क्यान्सर सम्बन्धी सम्पूर्ण सेवाहरु उपलव्ध गराउन सक्षम भएको हो।
रेडिएसन थेरापीको लागि जडान भएको एज नामक उपकरण नेपाल मै पहिलो पटक जडान भएको नोवेलका अन्कोलोजिष्ट डा. प्रदिप भण्डारीले जानकारी दिए। उनका अनुसार उक्त उपकरणमा रहेको ६डी कोच , हाइपर अर्च , हडमिक अत्याधुनिक प्रविधी हो र यसमा रहेको एसआरएस एसबीआरटी(SRS SBRT) ले शरिर भित्रको क्यान्सर शल्यक्रिया विना नै निर्मुल गर्ने गर्दछ। त्यस्तै आईजीआरटी आईएमआरटी वीएमएटी ले शरीर भित्रको सामान्य र स्वस्थ सेललाई हानी नगरी क्यान्सर सेललाई सेक्ने गर्दछ। यसले रेडिएसन थेरापीलाई थप प्रभावकारी र सटिक बनाउने उनले बताए। यस संगै ब्राकीथेरापी पनि जडान भएको छ। यस प्रविधीमा विना दुखाई औजारको सहायताले शरीर भित्र पुगेर नै क्यान्सरको सेल निर्मुल गर्ने गरिन्छ। क्यान्सर सेवाका लागि नव निर्मित भवनमा जडान भएको अर्को महत्त्वपूर्ण उपकरण ४डी आरटीसीटी(४डी आर, टि,सी टि,) नामक सिटी स्क्यान मेशिन हो जसले रेडिएसन थेरापीमा मद्धत गर्दछ।
२०२४ सेप्टेम्बर १७ मा विश्वकर्मा पूजाको अवसर तथा क्यान्सर उपचार सेवा सुरु भएको उपलक्ष्यमा संस्थाका अध्यक्ष लोकनाथ न्यौपाने तथा परिवारजनले पुजाअर्चना गरेका थिए भने पूजाको कार्यक्रम समाप्त भएपछि नोवेलका सम्पूर्ण कन्सल्ट्याण्ट, फ्याकल्टी सदस्यहरु, पदाधिकारीहरु, कर्मचारीहरुको उपस्थितिमा अध्यक्षबाट रिविन काटेर क्यान्सर भवनको उद्घाटन भएको थियो। सो अवसरमा सवैलाई क्यान्सर भवनका विभिन्न कक्षहरुको अवलोकन गराइएको थियो।

क्यान्सर उपचारलाई सहज बनाउन नोवेलले नेपाल सरकारको विपन्न नागरिक औषधी उपचार कोष अन्तर्गत क्यान्सर रोगको उपचार सेवा पनि प्रदान गर्न सुचीकृत भईसकेको छ। यस संगै पूर्वी नेपालका विपन्न क्यान्सर रोगीलाई उपचार सेवा प्राप्त गर्न सहज हुने छ।