भद्रपुर: कर्णाली प्रदेश प्रहरी कार्यालय, सुर्खेतका प्रमुख छन् प्रहरी नायब महानिरीक्षक (डिआईजी) अर्जुन चन्द ठकुरी। त्रिभुवन अन्तर्राष्टिय विमानस्थलमा कार्यरत रहँदा उनी विवादमा तानिएका प्रहरी अधिकृत हुन्।
उनै डिआईजी चन्द पुनः विवादमा तानिएका छन्। मंगलबार राति रक्सी खाएर होहल्ला गर्दै कार्यालयबाट भागेको पाइएको छ। कार्यालयबाट भागेपछि उनी काठमांडू जान्छु भन्दै रात्रीबस चढेको स्रोतको दाबी छ। उनी सुर्खेत देउती प्रा.लि.को क.प्र. ५७२९ नम्बरको सुर्खेत काठमांडू रात्रीबस चढेका थिए।
रक्सीको नशामा काठमांडू जान लागेको थाहा पाउनासाथ उनलाई सुब्बाकुना चोकबाट फर्काइएको छ। कार्यालयका प्रहरी उपरीक्षक (एसपी) विनोद शर्माको टोलीले बसबाटै फिर्ता ल्याएका हुन्। कार्यालय ल्याउनासाथ उनले धमाधम प्रहरी जवान तथा हवल्दारहरुको काज सरुवा समेत निकालेको बताइन्छ।
गोप्य स्रोतकाअनुसार डिआईजी चन्दले मंगलबार राति कार्यालयबाहिर रक्सी खाएर आएपछि उनी कार्यालय फर्किएका थिए। तर, त्यसको केहीसमयमै उनले कसैलाई थाहा नै नदिई कार्यालयबाट भागेर काठमांडू जाने बस चढेका हुन्।
पछिल्लो १०,१५ दिनदेखि चन्द दिनहुँ रक्सी खाने र प्रहरी कर्मचारीहरुलाई दुःख दिने गरेका छन्। चन्दको उदण्ड गतिविधिले सुर्खेतका सर्वसाधारणदेखि कार्यालयमा कार्यरत प्रहरीहरु आजित हुन परेको छ।
जसको गुनासो प्रहरी महानिरीक्षक (आइजीपी) वसन्त कुवरसमक्ष पुगेको छ। त्यसपछि आइजीपी कुवरले उनलाई तत्काल परिवर्तन गर्न लागिपरेका छन्। स्रोतकाअनुसार उनको सम्भवत आजभोलीमै सरुवा हुनेछ।