भद्रपुर: मोरङको रतुवामाई नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष तुलाराम लुइँटेल भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्। नागरिकता लगायतका सरकारी कागजात सच्याएर सामाजिक सुरक्षा भत्तामा अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत जुन १४ मा दायर गरेको मुद्दामा विशेष अदालतले वडाध्यक्ष लुइँटेललाई आइतबार दोषी ठहर गरेको हो।
विशेष अदालतका न्यायाधीशद्वय टेकेन्द्र कुँवर र रितेन्द्र थापाको संयुक्त इजलासले वडाध्यक्ष लुइँटेललाई भ्रष्टाचार निवारण ऐन २०१२ को दफा ९ र दफा १७ बमोजिम ९ महिना कैद र जरिवाना तोकेको छ।
गलत लिखत तयार गरेकोमा दफा ९ बमोजिम १० हजार रुपैयाँ जरिवाना र ३ महिना कैदका साथै सार्वजनिक सम्पतिको हानि नोक्सानी गरेको कसुरमा सो ऐनको दफा १७ को व्यवस्था बमोजिम थप १ लाख ६० हजार रुपैयाँ जरिवाना र थप ६ महिना कैद सजाय सुनाइएको हो।
वडाध्यक्ष लुइँटेलले २०१८ को पहिलो कार्यकालमा श्रीमती भक्तकुमारीको नागरिकता प्रतिलिपिको विवरण कीर्ते गरी सामाजिक सुरक्षा भत्ता वापतको रकम वितरण गरेको ठहर विशेष अदालतले गरेको छ।
त्यसैगरी रतुवामाई नगरपालिका वडा नम्बर ६ बस्ने मेघदीप पोखरेल पनि यही मुद्दामा दोषी ठहर भएका छन्। उनले जेठी श्रीमती तुलसा देवीको नागरिकताको प्रथम प्रतिलिपिको फोटोकपीमा जन्ममिति सच्याइ ज्येष्ठ नागरिक भत्ता पाउने लाभग्राहीको सूचीमा नाम समावेश गराएको विशेष अदालतको ठहर छ।
पोखरेल स्वयंले नाम दर्ताका लागि अनुसूची–३ (क) अनुसारको दरखास्त भरी रतुवामाई नगरपालिका वडा नम्बर ६ को कार्यालयमा पेश गरेका थिए। वडाध्यक्ष लुइँटेलले निवेदन उपर छानबिन नै नगरी २०१८ सेप्टेम्बरमा तुलसा देवीको नाम लाभग्राही सूचीमा समावेश गराएर १ लाख ४४ हजार रुपैयाँ दिलाएका थिए।
श्रीमतीको उमेर बढाई नागरिकताको प्रतिलिपि लिन सिफारिस गर्ने वडाध्यक्ष लुइँटेल, पोख्रेल र तुलसादेवी तथा तत्कालीन वडा सचिव कल्पना बास्तोला र इलाका प्रशासन कार्यालय मोरङका तत्कालीन नायब सुब्बा रमेश कोइरालाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो।
यो मुद्दामा कर्मचारीहरूले भने सफाइ पाएका छन्। कर्मचारीहरूको तर्फबाट अधिवक्ता लबन न्यौपाने, अधिवक्ता विनोदमणि भट्टराई लगायतले बहस गरेका थिए। दोषी ठहर भएका लुइँटेल नेकपा एकीकृत मालेबाट दोस्रो कार्यकालका लागि मोरङको रतुवामाई नगरपालिकाको वडा नम्बर ६ का निर्वाचित वडाध्यक्ष हुन्। पोखरेल स्थानीय एकीकृत माले नेता हुन्।