सुनसरी मोरङ झापाका नौजना जुवाडे अठार लाखसहित खालबाट पक्राउ

IMG-20240918-WA0068

भद्रपुर: मोरङको ग्रामथान गाउपालिका ४ स्थित कटहरीमा रहेको एक जुवाखालबाट सुनसरी मोरङ झापाका जुवाडे १८ लाख रुपैयाँसहित पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार जुवाखालबाट मोरङ ग्रामथान गाउँपालिकाका पूर्व अध्यक्ष शिवनारायण माझीसहित ९ जना जुवाडेलाई पक्राउ परेका छन्।
मोरङ प्रहरीका एसपी नवराज कार्कीले ग्रामथान ४ कटहरीस्थित जुवाको अखडामा छापा हानेर पूर्व अध्यक्ष माझीसहित ९ जना जुवाडेको साथबाट १८ लाख ५१ हजार रुपैयाँ ५ सय रुपैयाँ बरामद गरेको जानकारी दिए।
पक्राउ परेका माझी २०१७ सालमा भएको स्थानीय तहको निर्वाचनमा नेकपा एकीकृत मालेबाट ग्रामथान गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र मोरङ प्रहरीबाट खटिएको टोलीले गोप्य सूचनाको आधारमा पक्राउ गरेको एसपी कार्कीले बताए।
यसरी पक्राउ पर्नेहरुमा सुनसरीको दुहबी नगरपालिका ६ का ४५ वर्षीय जयकिशोर साह, सुन्दहरैचा १ का ५० वर्षीय जनक कुमार माझी, मोहतरीका ४५ वर्षीय महेश साह, ग्रामथान गाउँपालिका ४ का, सो ठाउँका आर्हलाल माझी, धरान १५ का युवक राई, दमक १० का कतुवर्न नेम्वाङ, लेटाङ ९ का लोक नाथ सापकोटा र सुन्दरहैचा ३ का प्रताप राई छन्।
सुनसरी, झापा र मोरङको विभिन्न स्थानबाट जुवा खेल्न ग्रामथानमा आउने गरेको विशेष सूचनाको आधारमा छापा हानेर जुवा खेलिरहेको जुवाडेलाई नियन्त्रणमा लिएको प्रहरी एसपी कार्कीले जानकारी दिए। पक्राउ परेकाहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको उनले बताए।
ग्रामथान ४ मोतीपुर क्षेत्रमा जुवाको अखडा बनाएर नामुद जुवाडेहरू जुवा खेल्ने गरेका थिए। यहाँ कोशी प्रदेशको विभिन्न जिल्ला र मधेस प्रदेशबाट पनि जुवाडेहरू ग्रामथानमा जुवा खेल्न आउने गरेका थिए। खोला छेउ छाउको घरहरूमा व्यवस्थित रूपमा जुवा खेल्ने अखडा बनाएको प्रहरीले जनाएको छ। चाडपर्व नजिकिएसँगै जुवाजन्य गतिविधिहरू हुने भएकोले प्रहरीले कडा निगरानी गरेको एसपी कार्कीले बताए। यसअघि पनि डिएसपीको नेतृत्वमा खटिएको प्रहरी टोलीले यस क्षेत्रको पुगेर अनुसन्धान गर्दै आएको उनले बताए।
पक्राउ परेका जुवाडेहरूलाई इलाका प्रहरी कार्यालय बेलबारीमा राखेर अनुसन्धान भइरहेको छ। उनीहरुलाई जुवा ऐन अन्तर्गत मोरङ अदालतमा म्याद थप गरी अनुसन्धान सुरु गर्ने प्रहरीले तयारी गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement