भद्रपुर: उराँव समुदायले दशैका रुपमा मनाउदै आएको करम पूर्व सन्ध्या सांस्कृतिक कार्यक्रम २०२४ सुनसरी सदरमुकाम इनरुवामा भव्य रुपमा आयोजना गरिएको छ।
नेपाल उराँव आदिवासी जनजाति प्रतिष्ठानको कार्यालय रहेको भवनमा एकसाता अगाडी जमरा राखी सुरु भएको करम पूर्व सन्ध्या सांस्कृतिक कार्यक्रम आज भदौ पूर्णिमाका दिन विधिवत रुपमा हर्षोउल्लासका साथ मनाउदै समापन गरिने भएको हो।
करम पूर्व सन्ध्या तथा सांस्कृतिक कार्यक्रमका लागि एकसाता अगाडी उराव समुदायका अगुवाहरु भेला भई सुनसरी खोलाबाट बालुवा बोकी बाजा–गाजासहित प्रतिष्ठानको भवनमा ल्याएर जमरा राखिएको थियो।
नेपाल उराँव आदिवासी जनजाति प्रतिष्ठानका अध्यक्ष बेचन उराँवले २०२४ सालको करम पूर्व सन्ध्या सांस्कृतिक कार्यक्रमका लागि सामूहिक रुपमा जमरा राखी उराँव समुदायका परम्परागत सास्कतिक मुल्य मान्यता रितिरिवाज अनुसार अखडामा गित गाउदै नाचगान गर्ने कार्य जारी रहेको बताए।
सेप्टेम्बर १८मा उराँव समुदाय सम्मान २०२४ बाट प्राडा. हरी उराँवलाई सम्मान गर्नुका साथै कार्यक्रममा भारतको राची विश्वविधालय झारखण्डका अनुशंधानकर्ता, भारतीय आदिबासी विकास परिषदका अध्यक्ष जितेन्द्र उराँव, मिडिया प्रभारी आन्नद लाक्डा, विश्वनाथ उराँव, डा.बन्दे खल्खो सहित सहभागी हुने जनाइएको छ।
सातौं करम पूर्व सन्ध्या तथा सांस्कृतिक कार्यक्रममा मौलिक भेषभुषामा सजिएर ¥याली निकालि सुनसरीको इनरुवा नगर परिक्रमा गर्ने कार्यक्रम रहेको छ।
करम पूर्व सन्ध्या तथा सांस्कृतिक कार्यक्रममा उराँव कलाकारहरूले नाटक, नृत्य, झाँकी प्रदर्शन गर्नुका साथै पहिरन, बाजागाजा, पोशाक, मौलिक परम्परागत हातहतियार, कृषि औजार, जीविकोपार्जनका साधन प्रदर्शन गरिने आयोजकले जनाएको छ।
नेपाल उराँव आदिवासी जनजाति प्रतिष्ठानले उराँव समुदायको हक, अधिकार र पहिचानका लागि विभिन्न कार्यहरु गर्दै इनरुवामा बसोबास गर्ने जाती मध्ये उराँवसमेत झोडा फडानीका समयदेखिनै बसोबास गर्दै आएकाले उराँव भाषा, कला, संस्कृति र संस्कारको संरक्षणमा कार्यक्रम गर्दै आएको छ।








