गान्तोक: सिक्किम नेवार गुठीको पहलमा आज राजधानीस्थित मनन केन्द्रमा राज्यस्तरीय इन्द्रजात्रा पर्व पालन गरियो। यस कार्यक्रम अन्तर्गत पहिलो चरणमा भानु उद्यानमा राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङले पूजा अर्चना गरपछि शोभायात्रा निकालियो। उक्त यात्रा तिब्बत पथ, एमजी मार्ग हुँदै मनन केन्द्रमा आएर समापन भएको थियो। यस यात्रा मुख्यमन्त्री तामाङले पनि सहभागिता जनाएका थिए। दोस्रो चरणको कार्यक्रम मनन केन्द्रमा सम्पन्न भयो, जहाँ मुख्यमन्त्री प्रेमसिंह प्रमुख अतिथि थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री तामाङले एसकेएम पार्टी सरकारमा आएपछि कुनै पनि जातीय संगठनले आफ्नो सांस्कृतिक पर्व पालन गर्न चिन्ता गर्नु नपर्ने स्थिति सरकारले सृजना गरेको बताए। सरकारले सबै समुदायको पर्वलाई मनाउनको निम्ति आर्थिक सहयोग प्रदान गर्दै आइरहेको किटान गरे। कुनै पनि पर्व पालन गर्नको निम्ति आर्थिक समस्याको खाँचो रहने गर्दछ तर वर्तमान सरकारले सबै जातिको पर्वलाई पालन गर्नको निम्ति आर्थिक सहयोग प्रदान गरेको पनि जानकारी गराए। राज्यमा धेरै मुख्यमन्त्रीहरू आए तर मुख्यमन्त्रीले कहिले पनि मुख्यमन्त्रीको कोषको सदुपयोग नगरेको दावी गर्दै केवल आफन्तहरूको निम्ति मात्र मुख्यमन्त्री कोष प्रयोग गरिएको दावी गरे। जातीय समीकरणको कारणले गर्दा नेवार समुदायका प्रतिनिधिलाई मन्त्री पद प्रदान गर्न नसकिएको बताए। तर नेवार समुदायको निम्ति आफू नै मन्त्रीकोरूपमा काम गर्ने पनि घोषणा गरे। सबै समुदायले आफ्नो जातिको भाषा,संस्कृति र परम्परालाई संरक्षण गर्नको निम्ति सरकारले सबै प्रकारको सहयोग प्रदान गर्ने बताउँदै यसको निम्ति युवाहरू अघि आउनु पर्ने आग्रह गरे।

आफ्नो जातिको भेषवुषा, भाषा बोल्नको निम्ति कसैले पनि नहिच्काउने सुझाउ दिए। सरकारको तर्फबाट कुनै पनि जातिलाई सहयोग गर्नको निम्ति सरकार पछि नपर्ने पनि उनले बचन दिए। राज्यमा बसोबासो गर्न सबै जातिको पर्वलाई सिक्किमको पर्वकोरूपमा पालन गर्नको निम्ति सरकारले पहल गर्दै आइरहेको अवगत गराए। अबोप्रान्त सिक्किममा आउने कुनै पनि केन्द्रीय मन्त्रीहरूको निम्ति राज्यको सबै जातिको पारम्पारिक खाद्य उपलब्ध गराउने पनि आज मुख्यमन्त्री तामाङले घोषणा गरे। सोही प्रकारले नेवार समुदायले अबदेखि काँसाको वर्तन प्रयोग गरिने सुझाउ दिए।

मुख्यमन्त्रीले कुनै पनि जातिको पोशाक लगाएमा त्यो स्वयतः प्रचार हुने बताए। उनले नेवार समुदायका विद्यार्थीहरूलाई आफ्नो भाषामा अध्ययन गर्नको निम्ति प्रेरित गर्नुपर्ने आग्रह गरे। यसपाली राष्ट्रीयस्तरमा इन्द्रजात्रा पर्व पालन गर्न नसकेता पनि आगामी दिनमा यसलाई राष्ट्रीयस्तरमा पालन गर्नुपर्ने सुझाउ दिए।










