गान्तोक: एक वर्षदेखि बन्द रहेको उत्तर सिक्किमको लाचेनदेखि गुरुदोङमार पुग्ने सड़क पुनर्बहालीले पर्यटन हितधारकहरुमा खुसी छाएको छ। निकै लामो संघर्षपछि सीमा सड़क संगठन (बीआरओ)-ले यो सफलता हासिल गरेको हो। गत वर्ष चार अक्टोबरको राति आएको लोनार्क झील फाट्दा सिक्किमले ठूलो संकट खप्नु परेको थियो। झील फुटेर आएको बाढीले टिस्टा नदीको किनारमा व्यापक क्षति पुर्यांएको थियो। उक्त आपदामा १६ वटा पुल क्षतिग्रस्त भएको थियो। यसअन्तर्गत लाचेन उपत्यकाका ६ वटा पुलसहित लगभग २५ किलोमिटर सडक क्षतिग्रस्त भएको थियो। यसरी लाचेन उपत्यकामा रहेको चीनको सिमानासँग सञ्चार लाइनहरू लथालिङ्ग भएको थियो। उत्तर सिक्किममा भएको आपदा स्थितिको सामना गर्दै सीमा सड़क संगठनले साहसिक कार्य गर्दै प्रारम्भिक चरणमा सेनासँगको समन्वयमा टिस्टा नदीमा काम शुरु गरेको थियो। यसअन्तर्गत सङ्कलङ, चुङ्थाङ र जिमामा धेरै बेली ब्रिज निर्माण गरेको थियो। बीआरओले कडा चट्टान खनेर पाँच किलोमिटरको सड़कमा वाहन कुदने व्यवस्था गरेको थियो। गत मई महिनामा आएरो बीषण पानीले लाचेन चुमामा निर्माण गरिएको महत्त्वपूर्ण बेली ब्रिज बगाएको थियो। निर्माणाधीन बेली सस्पेन्सन ब्रिजहरूमा ठूलो क्षति पुगेको थियो। जीमाको महत्वपूर्ण बेली ब्रिज बगाएपछि लाचेन उपत्यकाको चीन सीमासँगको सड़क फेरि एकपटक विच्छेद भएको थियो। परिस्थितिसित सामना गर्दै स्वस्तिक परियोजना अन्तर्गत बीआरओले ती ठाउँहरुमा नयाँ बेली ब्रिज निर्माण पूरा गरेको छ। पुलको निर्माणले स्थानीय मात्र नभई चीन सीमा क्षेत्रमा तैनाथ सेनालाई पनि मदत मिलेको छ। यसले उत्तर सिक्किमको सबैभन्दा आकर्षक पर्यटकीय गन्तव्य गुरुदोङमार झीलमा वाहनहरु पुग्न सक्ने आशा गरिएको छ। यस महत्वपूर्ण पुलको पुनर्स्थापनाले प्रकृतिको चुनौतीहरूसंग लड़दै बीआरओले ठूलो सफलता हालिस गरेको आज जारी एक प्रेस बयानमा उल्लेख गरेको छ।










