२२ अगस्तः न्यूजील्याण्डले चारजना ब्याटरको अर्द्धशतकीय ईनिंग्सको सहायताले वेष्ट इण्डिजलाई तेस्रो तथा अन्तिम वनडे इण्टरनेशनल क्रिकेट म्याचमा ५ विकेटले पराजित गऱ्यो। यसको साथै न्यूजील्याण्डले सीरीज २-१-ले जित्यो। ब्रिजटाउनको केनिंग्स्टन ओवल मैदानमा टस हारेर पहिला ब्याटिंग गर्दै वेष्ट इण्डिजले ५० ओभरमा ८ विकेट गुमाएर ३०१ रन बनायो। काइल मेयर्सले सर्वाधिक १०५ रन बनाए। उनले ११० बल खेलेर १२ वटा चौका र ३ वटा छक्का लगाए। यसबाहेक कप्तान निकोलस पूरनले ५५ बलमा ९१ रनको विध्वंशी ईनिंग्स खेले। पूरनले ९ वटा छक्का र ४ वटा चौका लगाए। यसरी नै विकेटकीपर शाई होपले ५१ रन बनाए। होपले १०० बल खेलेर ३ वटा चौका र एउटा छक्का लगाए। मेयर्स र होपले पहिलो विकेटको निम्ति ३४.५ ओभरमा १७३ रनको साझेदारी गरेर वेष्ट इण्डिजलाई असल शुरुवात दिलाए पनि टीमले ओपनिंग साझेदारी टुटेपछि लगातार अन्तरालमा विकेट गुमायो। त्यसपछि पूरनले एउटा प्रान्तमा आक्रामक ब्याटिंग गरे पनि अर्को प्रान्तमा सबै आउने र जाने मात्र भए। यसैकारण टीमले अन्तिम ओभरहरूमा अधिक रन बनाउन सकेन। न्यूजील्याण्डका बलरहरूमा ट्रेण्ट बोल्टले सर्वाधिक ३ विकेट लिए। यसबाहेक स्पिनर मिचेल सेण्टनरले २ विकेट हासिल गरे।

जवाफमा न्यूजील्याण्डले ओपनर फिन एलन (३)-लाई शुरुमै गुमाए पनि शीर्ष क्रमका अन्य चारजनाले अर्द्धशतक बनाएर टीमलाई जीत दिलाए। यसरी न्यूजील्याण्डले १७ बल बाँकी रहँदै ५ विकेटमा ३०७ रन बनाएर रोमाञ्चक जीत हासिल गऱ्यो। न्यूजील्याण्डको तर्फबाट टम लाथमले ६९ रन बनाए। उनले डेरिल मिशेलसँग चौथो विकेटको निम्ति १२० रनको साझेदारी गरी यस ठूलो लक्ष्यलाई हासिल गर्नमा महत्त्वपूर्ण भूमिका निर्वाह गरे। मिशेलले ६३ रन बनाए। यसअघि मार्टिन गप्टिल (५७) र डेवोन कनवे (५६)-ले दोस्रो विकेटको निम्ति ८२ रनको साझेदारी गरे। अन्तमा जिम्मी नीशमले ११ बलमा ४ वटा छक्का र एउटा चौकाको सहायाताले अविजित ३४ रन बनाएर टीमलाई जीत दिलाए। वेष्ट इण्डिजका बलरहरूमा जेसन होल्डर र यानिक कारिआहले २-२ विकेट लिए। न्यूजील्याण्डका लाथमलाई प्लेयर अव् द म्याच चयन गरियो। यसरी नै तीनवटा म्याचमा ५१ रन बनाउनको साथै ४ विकेट लिने सेण्टरनरलाई प्लेयर अव् द सीरिज चयन गरियो।