१७ सितम्बर विश्वकर्मा दिवस, १५ सितम्बर राष्ट्रिय अभियन्ता दिवस। मिथकहरूले विश्वकर्मालाई विश्वका सर्वश्रेष्ठ अभियन्ता मान्दछन्। भारतका प्रथम नागरिक अभियन्ता, बाँध निर्माता, अर्थविद् तथा नीतिज्ञ राष्ट्रकर्मी भारतरत्न सर मोक्षगोण्डम् विश्वेश्वरय (१५ सितम्बर १८६१ – १२/१४ अप्रेल १९६२)को सम्झनामा १५ सितम्बर वर्षेनि राष्ट्रिय अभियन्ता दिवस मनाइने गरिन्छ। विश्वकर्मालाई देवता मानिनाले विश्वकर्मा दिवसलाई चाहिँ विश्वकर्मा पूजा भनिँदछ। यो पूजा मनाउन तिथि हेरिँदैन। ग्रेगोरियनी कालान्तर (ग्रेगोरियन क्यालेन्डर)-कै मिति १७ सितम्बरलाई स्वीकार गरिएको छ। विचित्र के छ भने वर्षेनि १७ सितम्बरकै दिन शकाब्द वा विक्रमाब्दको सौर्य मासे असोज संक्रान्ति पनि पर्दछ अर्थात् १७ सितम्बरदेखि असोज लाग्दछ। ज्ञानीहरूले १७ सितम्बर विश्वकर्मा पूजा राख्नुको मुख्य कारण हो इरोड वेङ्कट रामासामी पेरियार (१७ सितम्बर १८७९ – २४ दिसम्बर १९७३)-को जयन्ती। पेरियार नामले चिनिने वेङ्कट रामस्वामी बीसौँ शताब्दीमा तमिलनाडुका एकजना प्रमुख राजनेता थिए। उनले पछौटे, दलित, शोषित, कृषक, श्रमिक र निर्धनको उत्थानमा जीवन उत्सर्ग गरेका थिए। तमिलनाडुमा १७ सितम्बरलाई सामाजिक न्याय दिवसका रूपमा मनाउने गर्दछन्। सामाजिक समानताका परिपोषक पेरियार दक्षिणमा द्रविड आन्दोलनका जनक मानिन्छन्।
सबभन्दा राम्रोलाई दिव्यता (divinity)-को मान्यता दिने प्रथा संसारभरि पाइन्छ। यो युरोपको पुनर्जागरण कालमा पनि हराएन। माटो धरतीमाता, पानी जलदेव, आगो अग्निदेव, हावा वरुणदेव, आकाश स्वर्गपति इन्द्र, बोली वाग्देव-वाग्देवी, युद्ध स्कन्ध, यौन कामदेव-रतिदेवी, ऊर्जा सविता, विद्या सरस्वती, सम्पत्ति लक्ष्मी, प्रसव पार्वती, औषधि धन्वन्तरी, जीवन ब्रह्मा, मृत्यु यम आदि। सबै पदार्थलाई दिव्यता दिने प्रथा त ग्रीक र रोमनहरूमा पनि पाइन्छ । सभ्यताको थालनीमा प्रकृतिलाई पुज्दथे। प्रकृतिलाई नारी मानिन्थ्यो। भारतमा यूरेसियन आर्यहरू आउनअघि समाज मातृसत्तात्मक नै थियो। मातृसत्ता मान्नेहरू सविता (सूर्य) देवी, जलदेवी, अग्निदेवीहरू पुज्दथे। आर्यहरूले तिनीहरूलाई नर बनाइदिए – सूर्यदेव, जलदेव, अग्निदेव आदि। आर्य ब्राह्मणहरूले देवीहरूलाई आर्य देवताका स्वास्नी, सौता, बहिनी, छोरी बनाइदिएर नारीको स्वतन्त्र सत्तालाई नरमा निर्भर बनाइदिए। सिन्धु सभ्यतामा मानिएको देवी त दानु थियो। दानु मान्ने सिन्धुका आर्येतर जातिलाई आर्यले दानव ठाने। इन्द्रले सानी आमा दानुलाई मारेको कथा रचे। आर्यले आफूलाई मनुका सन्तान मानव ठाने र अनार्यलाई दानव माने। ग्रीकको डायोनी, रोमनको डायना र भारतकी दानु एउटै मूलका भन्ने-मान्नेहरू पनि छन्। रोमनहरूले पुज्ने यूरोपको दानुब नदी अझ छ। आङ्ल-सेक्सनले मान्ने पुरुष विक्का र प्रकृति विसीलाई यरुसलेमको स्थापित ईसाई धर्ममा लाग्नेहरूले विच (बोक्सी)-को रूपमा वर्णन गरे। यसरी जनजातीय धर्म छताछुल्ल भएका उदाहरण कति छन् कति।
ऋग्वेदमा सूर्य र इन्द्रका विशेषण विश्वकर्मा मानेको उल्लेख छ। अरू वेदमा सूर्यको विशेषणका रूपमा विश्वकर्मा प्रयोग भए। सामाजिक प्रथाअनुसार विश्वकर्मालाई स्वर्णकार, चादकार, लौहकार, ताम्रकार, क्षौरकार, चर्मकार, काष्ठकार, मृदाकार, विद्युतकार, जलकार, स्वच्छकार, वध(मांस)कार, अभियन्ता आदि शिल्पश्रम गर्नेका लागि इष्टदेवता मानिन्छ। चिकित्सक, उपचारक, उपचारिका आदि स्वास्थ्यकर्मीहरूले धन्वन्तरी मानेजस्तै ललितकलाकार (साहित्यकार, संगीतकार, चित्रकार, रङ्गकर्मी)-हरूले सरस्वती माने। वैदिककालमा उपयोगीकलाका शिल्पी र श्रमिकहरूको पनि महत् प्रतिष्ठा थियो। भगवान् विश्वकर्माको नाममा एउटा पुराण पनि छ – विश्वकर्मा पुराण। यसलाई पनि दलित इतिहासकारहरूले शुद्रलाई धर्मान्तरणबाट रोक्न विश्वकर्मालाई प्रोन्नत गरेको आरोप पनि लाएको पाइन्छ। यस ग्रन्थअनुसार विश्वकर्मा शिल्पका ज्ञाता-प्रयोक्ता र ज्ञान-विज्ञानका कारणले मात्र नभई मानव र देवगणबाट पनि पूजित र वन्दित थिए। धर्मशास्त्रहरूमा विश्वकर्माका पाँचवटा स्वरूप र अवतार देखाइएको छ –
१. विराट् विश्वकर्मा – सृष्टिका देवता
२. धर्मवंशी विश्वकर्मा – शिल्पविज्ञान विधाता प्रभातका पुत्र
३. अङ्गिरावंशी विश्वकर्मा – आदिविज्ञान विधाता वसुका पुत्र
४. सुधन्वा विश्वकर्मा – शिल्पाचार्य विज्ञानजनक ऋषि अथवीका पुत्र
५. भृगुवंशी विश्वकर्मा – शिल्पविज्ञानाचार्य शुक्राचार्यका पुत्र
सृष्टिका आधारमा वैदिक विश्वकर्मालाई गृहस्थ संस्थाका आवश्यक सुविधाका निर्माता तथा सृष्टिका प्रथम सूत्रधार भनिएको छ। पदार्थका आधारमा विश्वकर्माका पाँचजना छोरालाई यिनका पाँचवटा मुख भनिएको हो – मनु, मय, त्वष्टा, शिल्पी र देवज्ञ। यिनीहरूले क्रमैले फलाम, काठ, तामा, माटा र सुनका शिल्पलाई संसारमा फैलाए भनिन्छ। वंशवृद्धिका आधारमा यिनलाई प्रभातपुत्र मानिएको पाइन्छ। प्रभात भनेको प्रकाश हो, उज्यालो। महर्षि अङ्गिराको छोरो बृहस्पति, बृहस्पतिकी बहिनी भुवना थिइन्। भुवना र महर्षि प्रभातका छोरो विश्वकर्मा भन्ने विवरण छ। यिनका पाँचजना छोरा पाँचवटा मुखबाट जन्मे – पूर्वमुखबाट सामना, दक्षिण मुखबाट सनातन, पश्चिम मुखबाट अहिंमून, उत्तर मुखबाट प्रत्न, ईशान मुखबाट सुपर्ण। यी प्रत्येकबाट पच्चीस-पच्चीसजना सन्तान भए। तिनीहरूबाट विशाल विश्वकर्मा समाज विस्तार भयो। विश्वको सबैभन्दा पहिलो प्रविधि ग्रन्थ विश्वकर्मीय ग्रन्थ र अर्को विश्वकर्माप्रकाशः (वास्तुतन्त्र)। यी ग्रन्थमा देव-वास्तप विद्यालाई गणितका सूत्रले प्रामाणिक र प्रासङ्गिक बनाएको पाइन्छ।
ऐतिहासिक कालभन्दा अघि पौराणिक कालमा बनाइएका भन्ने नगर, भवन, विमान साह्रै राम्रा र पक्का हुनाले बनाउने महामानवको परिकल्पना गरी भगवान् विश्वकर्मालाई प्रस्तुत गरियो। महामानव विश्वकर्मा निर्माण एवं सृजनका देवता मानिन्छन्। भारतीय कलाको मिथकीय इतिहास यिनीबाटै थालिन्छ। पुराना ग्रन्थमा वर्णित सबैभन्दा राम्रा आविष्कारक र निर्माणकर्ता भगवान् विश्वकर्मा मानिए। यिनले के-के बनाए भन्ने सूची नै छ : सुनको लङ्का, इन्द्रपुरी, यमपुरी, वरुणपुरी, कुबेरपुरी, पाण्डवपुरी, सुदामापुरी, शिवमण्डलपुरी आदि। सबै देवताका भवनका साथै उनीहरूलाई दिनहुँ चाहिने वस्तुहरू बनाउने यिनी। रावणको पुष्पक विमान, कर्णका कुण्डल, विष्णु भगवान्को सुदर्शन चक्र, शङ्कर भगवान्को त्रिशुल र पिनाक धनुष, यमराजको कालदण्ड इत्यादि बनाउने यिनी। सत्य युगमा स्वर्ग, त्रेता युगमा लङ्का, द्वापर युगमा द्वारका बनाउने यिनी नै हुन् भनिए तापनि कलियुगमा यिनले बनाएको रेकर्ड छैन तर यिनलाई निर्माण र सृजनका देवता भने मानिन्छ। आधुनिक कालमा निर्माणशाला, व्यापारकेन्द्र, उद्योगशाला, शिल्पगृह आदि विश्वकर्माकै अनुकम्पामा परिचालन भएको मानिन्छ र प्रतिमा राखेर पुजिन्छ। डा. शान्तिस्वरूप भटनागरले रचेको र प. ॐकारनाथ ठाकुरले दरबारी रागमा बनाएको कुलगीतले काशी हिन्दू विश्वविद्यालयका निर्माता पनि विश्वकर्मा नै हुन् भन्दछ –
नये नहीं है यह ईँट पत्थर।
है विश्वकर्मा का कार्य सुन्दर।।
रचे है विद्या के भव्य मन्दिर, यह सर्वसृष्टि की राजधानी।
मधुर मनोहर अतीव सुन्दर, यह सर्वविद्या की राजधानी।।
विश्वकर्मा खस-किरातका पारम्परिक देवता भने होइनन्। गोर्खाले विश्वकर्मा नाम मात्र सुने पनि दिन विशेषमा पूजन-वन्दन गर्ने प्रथा मानेको सय वर्ष पनि भएको छैन। कृषिजीवी र सैन्यजीवी गोर्खा समाजले चिया उद्योग देखेपछि चिया निर्माणशालामा विश्वकर्मा पूजा गर्नुपर्छ भन्ने कुरा बिहारी पुरोहितहरूबाट सिके। दार्जिलिङ-डुवर्सतिर नेपाली भाषाशिक्षा लागु हुनभन्दा अघि तिनै बिहारी पुरोहितहरूले हिन्दी पढाउँदथे। समाजमा उनीहरूले नै छोटा-बड़ा सिकाए, इया प्रत्यय लाउन सिकाए, मरत-औरत-छोकोड़ा सिकाए- छोटा साहेब, बड़ा साहेब, छोटा कागझोड़ा, बड़ा कागझोड़ा, छटाइकार, बड़ाईकार, छोटा उकार, बड़ा ऊकार, सुकिया, पोखरिया, सोमबारिया, धजिया…। यसरी नै यन्त्रका देवताका रूपमा चिया निर्माणशालामा विश्वकर्मा पूजा गर्न सिकाए। चियाबारीका ट्रयाक्टर-जीप गाड़ीलाई भगवान् विश्वकर्मा भन्न लगाए। चिया निर्माणशालाका ब्रिटानिया कम्पनीका चिया पेल्ने कलमा विश्वकर्मा हुन्छन् भनिदिए। गोर्खाको एउटा जातविशेषलाई विश्वकर्मा लेख्न सिकाए। पाहाड़े पुरोहितलाई न विश्वकर्मा थाहा थियो, न विश्वकर्मा पूजाविधि । १९८०-को दशकदेखि चाहिँ काशीका विश्वकर्मा पूजाविधि चोकबजार र लालबजारतिर पाइनथाले। सामरिक जाति गोर्खाले चलाउने हतियारको पूजा त नवरात्रिमै हुन्थ्यो। भाटी राखेका लौहकारकहाँ नौरथा लाग्नासाथ हतियार अर्जाप्न पुर्याइन्थे। सप्तमीको फूलपाती कार्यक्रम सक्नासाथ हतियार भाटीबाट ल्याइन्थे। स्थापना गरेर अष्टमीमा मार हान्थे। अष्टमी भोज हुन्थ्यो। गोर्खा आस्था साधनामा नभई शक्तिमा आधारित छ। विश्वकर्मा पूजन परम्परा साधन-साध्यको प्रतीक हो। कमानका श्रमिकहरूले विश्वकर्मालाई पुजे पनि बस्तीतिरका कृषकहरूले नौरथा नै पर्खेर काँटा, कोदालो, हम्मर, फरुवादेखि कत्ती, खुँड़ा, खुकुरी शक्तिस्वरूपा देवीको आराधनामा अर्पण गर्दछन्। ती कति ज्यामल अर्थात् हातहतियार अष्टमीमा निकाल्दछन् र कति नवमीमा। गोर्खा समाजमा विश्वकर्मा पुराणभन्दा दुर्गा सप्तशती नै विश्वासग्रन्थ छ। नेवारहरूको शरद् ऋतुको धुन मालसिरीलाई सबै गोर्खाले दसैँ-गीत मान्दछन्। विश्वकर्मा पूजा र महालयमा यो धुन नबज्नाले गोर्खाको मन रमाइहाल्दैन। उद्योग विकास भइसकेका ठाउँतिर भने विश्वकर्मा वर्कशप कल्चर भएर बसिसकेको पाइन्छ। भारतमा पनि पहिले संसार बनाउने, देवताहरूका घर, हतियार, वाहन बनाउने निर्माणका देवता मान्दथे भने यूरोपेलीहरूले उद्योग बसाइदिएपछि मात्र यो सार्वजनिक र सामूहिक पर्व हुनगएको थाहा लाग्दछ। हुन ता भारत अहिलेसम्म पनि पूर्ण रूपले औद्योगिक राष्ट्र त बन्नसकेको कहाँ छ र !
यस कलमकारको दार्जिलिङ नगरमा माथ्लो मुख्य पत्रालयको पल्लोपट्टि कञ्चन डेरीका साथै राङभाङ बस्तीका तारसिङ डाँड़ा र टिप्पन डाँड़ अनि चामोङको गोदाम गाउँमा गरी चारवटा दूधका पुर्ख्यौली डेरी थिए, पटनाको किर्लोस्कर कम्पनीबाट ती दूध पेल्ने र घिऊ बनाउने मशिन मगाइन्थे। भीपीपी-बाट आउँथे। दूधबाट दही, मोही, घिऊ, छुर्पी बनाइन्थे । चामोङमा आँटा मिल पनि थियो। ३२६४ नम्बरको ल्यान्ड रोभर गाड़ी पनि थियो। कहीँ पनि विश्वकर्मा पूजा गरिँदैनथे। ती सबैमा गाई तिहारको दिन सयपत्री-मखमली माला लगाउनाका साथै दीयो झिलिलिली बालेर लक्ष्मीका पूजा हुन्थे। विश्वकर्माको अनुहार कस्तो हुन्छ भनेर चामोङ कमानका श्रमिकहरूलाई थाहै थिएन तर कलवाला र सर्दार बाहरूले भने घरबाट लगेर चिया निर्माणशालाका कलपूर्जामा अबीर छर्कन्थे र ‘ल है चोटपटक नलागोस्’ भन्थे। कसैले थाहै पाउँदैनथे। दार्जिलिङ नगरमा विश्वकर्मा पूजा हुन्थेन। बङ्गालीबाट सिकेको सरस्वती पूजा गाँवैपिच्छे हुन्थे र कागझोड़ाको सरस्वती झोड़ाको खोलामा अर्को दिन सेलाउन लान्थे। १९७०-७१-तिर होला हामीले दार्जिलिङको भोटे बस्तीमा तिब्बतीको केन्द्रिय विद्यालय (सेन्ट्रल स्कूल फर टिबेटन) बनाउने केन्द्र सरकारका ठेकावालाहरूले माइक बजाएर विश्वकर्मा पूजा गरेका थाहा पायौँ। के पूजा रहेछ भनी छक्क परेर पानदाम, तुङसुङ, भोटे बस्ती, लिम्बू बस्ती, हर्मिटेज, होमदेन, नेवारगाउँ, आलुबारी र आलेबुङका मान्छे गुटुटुटू पुगे। होहोरीमा हामी पनि गयौँ। ती गाउँलेहरूले कुरा गरे – ‘विश्वकर्मा भगवान् त हात्तीमा चढेको जुँगे हुँदोरहेछ’। ब्लस्टिङ पड़्काएको पनि त्यहीँ पहिलोपटक देखेको र सुनेको। चर्को पड़्केको थियो, भोटे बस्ती-लिम्बू बस्ती हल्लिए। कम्प्लेन भए। तब पड़्काएनन्।
अब उद्योगका कुरा गरौँ। मानिसले वाष्प इञ्जिनको प्रयोग गर्न थालेबाट प्रथम औद्योगिक क्रान्तिको थालनी भएको मानिन्छ। यो इसाब्द १७६०-देखि १८४०-को अवधि हो। यस चरणमा जल र वाष्प इञ्जिनको प्रयोगले उत्पादनलाई यन्त्रीकरण गर्न सम्भव भयो। कृषिमा आधारित समाज नञा उत्पादनको प्रक्रियातिर अर्थात् औद्योगिकीकरणतिर उन्मुख हुनथाल्यो भने लुगा र फलाम उद्योगहरूमा व्यवसायका प्रशस्त अवसर खुल्न थाले।
दोस्रो औद्योगिक क्रान्तिको चरण इ. १८४०-पछि थालियो। यस चरणमा बिजुली, पेट्रोल र ग्यासलाई ऊर्जाको स्रोतको रूपमा उपयोग गर्न सम्भव भयो। स्टिल उद्योगहरूको व्यापकतासाथै एकैपटक धेरै उत्पादन (मास प्रडक्सन) सम्भव हुनथाल्यो। सेयर (स्टक)-बाट कुलीनहरूको हातमा सीमित उत्पादनका साधनहरूको स्वामित्वमा पनि परिवर्तन आउन थाल्यो। परिणामत: राज्य अहस्तक्षेपकारी नीति (लेसिफेर)-को सट्टा औद्योगिक समाजको सामाजिक-आर्थिक आवश्यकतामा आधारित नीतिहरूतिर उन्मुख हुनथाल्यो । अनुसन्धानलाई केन्द्रीकृत गर्दै यस समयमा नयाँ-नयाँ आविष्कार पनि भए। विज्ञान र प्रविधिमा हुँदै गएको विस्तारले तेस्रो चरणको औद्योगिक क्रान्ति सम्भव भयो । यो चरण इ. १९६९-तिरबाट थालियो। यस चरणमा कम्प्युटर र सूचना प्रविधिको उपयोगले सामाजिक संगठनको ढाँचालाई नै नयाँ चरणमा प्रवेश गरायो। ‘प्रोग्रामेबल लजिक कन्ट्रोलर’ र ‘रोबोट’ (यन्त्रमानव) समाजलाई यस चरणमा पुर्याउने प्रमुख आविष्कार हुन्। उद्योगको क्षमतालाई स्वचालित (अटोमेटिक) प्रणालीले थप प्रभावकारी एवं दक्ष बनायो।
विगतका औद्योगिक परिवर्तनका आधारबाट बेग्लै पद्धतिले क्रान्तिकारी फड्को मार्दै विश्व चौथो औद्योगिक क्रान्ति (आईआर ४.०) को चरणमा प्रवेश गरिसकेको छ। आईआर ४.० एडभान्सड एनालिटिक्स, बिग डाटा, आर्टिफिसियल इन्टेलिजेन्स, रोबोटिक्स, इन्टरनेट अब् थिङ्स र प्रोसेस डिजिटाइजेसनमा आधारित हुनेछ। यसले उत्पादनका प्रक्रियालाई पूर्णत: स्वचालित गर्नेछ। भारतीय समाजमा औद्योगिक क्रान्तिका चार चरणमध्ये पहिलो चरण पनि पूर्ण रूपले स्थापित भएको छैन। यहाँ मनाउँदै आएको विश्वकर्मा पूजा कल-पुर्जासम्म सीमित छ। भवन-निर्माणकर्मी, पक्की पथ-निर्माणकर्मी, वास्तुकार, वास्तुशिल्पी आदि समाजका बन्धुहरूको अर्चना होइन। प्रतिष्ठा हुनुपर्नेचाहिँ यिनीहरूकै हो। गोर्खा समाजमा विश्वकर्माको अवधारणा एउटा विशेष जात-गोष्ठी र अर्चनाविशेषको प्रकार गरी दुईवटा प्रसङ्गमा समेटिएको छ। अबको समय भनेको हाम्रो आफ्नै शिल्प-शैलीका संरचनाद्वारा जातीय चिनारी प्रदान गर्नसक्नु हो। दह्रिलो गोर्खा समाजमा दक्ष र समावेशी विश्वकर्माको उदयको बेला भयो।
दक्ष र समावेशी विश्वकर्मा भनेको पानी चलाउने र पानीबाट काड़्ने भनेको बुझ्ने बेला गयो। ब्राह्मण, क्षत्रिय, वैश्य, शूद्र गरी चार वर्ण त आफ्नै शरीरमा हुन्छ र समाजमा पनि हुन्छ। समाज पनि यी चारै अङ्गले चल्दछ। शूद्रलाई छुट्याउनु भनेको त आफ्नै खुट्टा काट्नु हो। खुट्टा काटे केले हिँड्नु? मनुस्मृतिअनुसार मुख्य ज्ञानेन्द्रिय हुने टाउको ब्राह्मण, क्षेत्रको रक्षा गर्ने छात्ती र हात क्षत्रिय, पाचन र प्रजनन गराउने पेट र जननाङ्ग वैश्य, जसको भरमा शरीर उभिन्छ-हिँड्छ त्यो शूद्र। ‘शूद्र’ शब्द ‘शुक्’ र ‘द्र’-बाट बनिएको हो। शुक भनेको सुगा हो। सुगा आत्मा, अनुकरण, स्वर र सञ्चारको प्रतीक हो। ‘द्रु’ धातु पनि हुनाले यसको अर्थ दगुर्नु। सञ्चरण केले गर्ने अर्थात् केले दगुर्ने – खुट्टाले। समाजलाई सञ्चरण गराउने शूद्र हो। मनुले चार वर्णका कुरा गरेको भनेको जन्मको आधारमा होइन, कर्मको आधारमा हो। पालि भाषामा बुद्धले लोभी बाहुनलाई ‘सुद्द’ भने। त्यो सुद्द भनेको शूद्र होइन, क्षुद्र हो अर्थात् माखाचित्ते । यी ज्ञानीहरूका कुरा बुझे विश्वकर्मा बुझिन्छ – विश्वमा कुनै पनि काम सानो हुँदैन, काम गर्न नलजाउनू भनेको बुझ्नु पर्दछ। एउटा मान्छे बिहान बढार्न, सिलाउन, ठोक्न, सार्न, धुन, मिलाउन, पकाउन, माझ्नमा लाग्नुपर्दछ, शूद्रका काम भनेर नगरी धर पाइँदैन; एकक्षणमा धुपबत्ती-पूजापाठ गर्न बाहुन पनि हुनपर्छ; अह्राइ-खटाइ-हप्काइ गर्न क्षत्रिय हुन पनि कर लाग्दछ; हात-मुख जोर्न वा पेटपाल्न कमाइखान वैश्य पनि बन्नैपर्छ। कर्मलाई धर्म मान्नु नै विश्वकर्मा पूजा हो।
परिश्रमी पारसमणि प्रधानले यो कुरो सानैदेखि बुझेका थिए। उनी कर्मवादी धर्मिष्ठ थिए। १९१९-मा गुरुबाबू भएर नव पिँढीलाई बारीमा काम गर्नु, कुखुरा-हाँस-बाख्रा-भेँड़ा-गाई-सुँगुर-खरायो-मौरी-रेशमकीरा पाल्न सिकाउँदथे। आफैले पनि गरेर देखाउँदथे। धान, मकै, आलु, अदुवा, सागपातसँगसँगै च्याऊ उमार्न र गुन्द्रुक बनाउन सिकाउँदथे, कृषिलाई उद्योग बनाउने युक्ति अप्नाएर अरूलाई सिकाउँदथे। पढ्नमा मन दिनेलाई उच्च पदमा पुग्न प्रेरित गर्दथे। कलाप्रेमीलाई संयमित हुनू भन्दथे। ठूला मान्छे भएर पनि घर-खेतीका काम गर्न नलजाउनू भन्थे। स्नातक बनेर पारसमणि गुरुलाई बीए-को अङ्कपत्र देखाउनजाने पञ्चरत्न प्रधानलाई ‘तैँले घाँस काट्न जान्दछस्?’ भने। गुरुले भन्न खोजेको विवेकी पञ्चरत्नले बुझे – श्रमको सम्मान (डिगनिटी अब् लेबर)। श्रमको सम्मान हामी सबैले जान्नुपर्दछ। अचेल हाम्रा कैञौ छोरीचेली क्षौरकार बन्न नलजाउने भएर केश काट्ने, सिँगारपटार गरिदिने नङिनी काम गरिखाँदैछन्। अचेल मुना-मदनकी नङिनी नैनी भाउजुजस्तै घरघर गएर क्षौरकर्तृ बनेका छोरीचेली पनि छन्। केटीहरू पनि वाहनकार चालाक (उहिलेको सारथी) बन्नथालेका छन्। ड्राइभिङ लाइसिन्स पनि लिँदैछन्। केटाहरू पनि क्षौरकार बन्दैछन्। क्षौर अर्थात् छुरी-कैँची चलाउन जान्ने भए। भारतका ठूल्ठूला नगरका प्राय: चिकित्सालयमा गोर्खा उपचारिका (नर्स) भेटिन्छ। विभिन्न विमानमा परिचारिका हाम्रा छोरीचेलीहरू छन्। यो राम्रो सङ्केत हो। स्वच्छकार पनि बन्दैछन्। सफाईकर्मी हुन किन पो लजाउनु! फाटाकफुटुक चर्मकार काममा प्रशिक्षण लिनेहरू पनि निस्कँदैछन्। जुत्ता-चप्लीका किसिम-किसिमका पादुकाचार (शू फेशन)-बाट लाभ उठाउन सकिन्छ। भूषाचार (गार्मेन्ट फेशन)-को त कुरै छैन। बुद्धि पुऱ्याए सुचिकार काममा भएभरको लाभ छ। संस्कृत शब्द सूचि भनेको सियो हो। लुगा काट्ने सिलाउने सूचिकारका प्रशिक्षण ठाउँठावै दिइन्छ। हाम्राहरूले मृदाकार (डकर्मी), काष्ठकार (सिकर्मी), जलकार, विद्युतकार काम किन नसिक्ने? पाक विद्या (कुकरी)-को पनि कार्यक्षेत्र विस्तारित छ। गोर्खालाई अल्छे, ठगी, छली हुन सुहाउँदैन। अचेल मत्थु वा औषधिका अतिलती (ड्रग एडिक्ट)-हरू बढ्नुको कारण काम गर्न लजाएर पनि हो र दायित्वदेखि भागेका। सुरुबुरू जुनसुकै काम पनि गर्नसकिनेमा हाम्रा युवालाई बाटो देखाइदिन पर्दछ। गोर्खाकै समाजमा पहिले आफ्नै लौहकार, सुचिकार, चर्मकारहरू थिए। अझ धेरै छन्। कतिले भने मादक पदार्थमा अतिलती भएर पनि पैतृक व्यवसाय सह्माल्न सकेनन्। परिवारमा एकजना सरकारी काममा लागे सबैले शिल्पी काम छाड़ेका उदाहरण पनि छन्। आधुनिककाल वैदिककालझैँ उदार बन्दै गएको छ। अब शिल्पश्रमको सम्मान बढिरहेको छ। अवसरबाट लाभ उठाउन सक्नु पर्दछ। भर्खरै संगीतशिल्पी भानु रामुदामूहरूले विश्वकर्मा भजन रेकर्ड गरीकन सार्वजनिक गरेका छन्। मध्यकालमा जस्तो भजन सुनेर वा गाएर भक्तिमा भुलिबस्नुभन्दा भजनबाट प्रेरणा लिएर व्यावसायिक काममा नलजाई लागे उन्नति हुनेछ।
भर नपर्ने कामका लागि फलोपभोगी नेताहरूको पछि लागिबस्नुभन्दा पढेलेखे राम्रो; पढाइ-लेखाइ नआए व्यावसाय समातिहालेको राम्रो। गोर्खाको जातीय एकता भङ्ग गर्नमा जाते बोर्ड नीति असफल भएपछि दार्जिलिङमा अचेल तलबाट थुप्रै पार्टी खोल्न लाउँदैछन्। गोर्खा नाम हाल्यो पार्टी खोल्यो। गोर्खा नाम गरेको पार्टीलाई पाहाड़ेले पत्याउने अनि गोर्खाल्याल्ड राम्रो मागिखाने भाँड़ो हुने कुरा तलकालाई थाहा छ। पढेलेखेका मानिसहरूले जाते बोर्ड मानिदिएनन् अनि पसिदिएनन्। पढेलेखेकाहरूलाई एक-एकवटा पार्टीमा हालेर जातीय एकता भङ्ग होला कि भनेर नञा युक्ति थालेको बुझिँदैछ। बङ्गरत्न, विद्यारत्न, धनरत्न पनि फकाउने मिठाई हुन्। यी सबै तलकै योजना हुन्। नेताहरूलाई पत्याउनुभन्दा शिल्पश्रममा लाग्नु उत्तम।
विश्वकर्माको अर्को नाम विश्वकर्मन् पनि हो। घामको निदेशनमा विश्व कर्मण्य रहन्छ। यसकारण घामलाई कर्मशिक्षक (तास्क मास्टर) मानिन्छ। गति पनि कर्म नै हो। गतिले गर्दा परिवर्तन पनि हुन्छ। बुद्धले आत्मासहित सबै थोक परिवर्तनशील अर्थात् जन्म-जरा-मरणको चक्रमा देखे। गीताले कर्म जीवन हो तर अकर्मण्यता मृत्यु हो भनेको छ। यसैकारण विश्वकर्मा कर्मका देवता भए। कर्म कहिल्यै बुढो (जरा) हुँदैन। कर्म सधैँ तरुण हुन्छ। कविशिरोमणि लेखनाथको कर्मयोगी वृक्ष सधैँ तरुण छ। यसकारण काव्यको नामै ‘तरुण तपसी’ भयो। यसरीति भगवान् विश्वकर्मा कर्मका प्रतीक हुन्। विश्वकर्मा पूजाको अर्थ मान्छे कर्मशील हुनुपर्छ अनि जीवनशैली पनि कलापूर्ण हुनुपर्छ भनिएको हो। हात्तीमा चढेका मान्नु भनेको काम पक्का गर्नू तर ढाँटेढुँटे काम नगर्नू भनिएको हो। छेउमा भएको राजाहाँसले नीरक्षीर विवेक अर्थात् कुन काम उचित र कुन अनुचित भनी दूधको दूध पानीको पानी छुट्याउने विवेक बुझाउँदछ। तुला वा तराजु न्यायको प्रतीक हो भने बञ्चरो नवपाषाणकाल (Neolithic age)-देखि नै प्रयोग हुनथालेको युद्ध र कर्मको प्रतीक हो। बञ्चरो सभ्यताको सबैभन्दा पुरानो हतियार हो। यसले निर्माणको प्राचीनता इङ्गित गर्दछ। धनुकाँड़ प्रेम र लक्ष्यको प्रतीक हो। साहसिक काम (adventurous works)-मा पनि कोही पछि नसर्नू, आँटी हुनू भन्ने सन्देश यिनको जुँगाले दिँदछ। छिनु र मार्तोलले पृथ्वी बनाएको त बुझिहालिन्छ – निर्माण। सेतो दाह्री भनेको बुढो अर्थात् वयोवृद्ध मात्र होइन तर ज्ञानवृद्ध पनि हो। कर्मण्य विश्वकर्मा कहिल्यै बुढा हुन्नन् भनिन्छ। सत्कर्मले व्यष्टि र समष्टिलाई सन्मार्गमा हिँड़ाउने निदेशन विश्वकर्माले दिन्छन्। यिनको नाममा भवन-निर्माणकर्मी, पथ-निर्माणकर्मी, वास्तुकार, वास्तुशिल्पी, स्वर्णकार, चाँदकार, लौहकार, ताम्रकार, क्षौरकार, चर्मकार, काष्ठकार, विद्युतकार, मृदाकार, स्वच्छकार, वधकार, शस्त्रास्त्रकार, वाहनकार, पाककार आदि शिल्पश्रमका साधकहरूका साथै महामारीकालमा आफ्नो कर्मलाई निष्ठापूर्वक निर्वहन गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, स्वच्छताकर्मी, अन्य आवश्यक सेवा आपूर्तिका सहयोगीहरूको कर्मलाई प्रतिष्ठा गरीकन उनीहरूको पराक्रमलाई प्रेरणा प्रदान गर्नुपर्ने हो। पूजाको अवसरमा ताली बजाएर, शङ्ख-घण्टी बजाएर यिनीहरूको शक्ति, साहस र पराक्रमलाई प्रेरणा दिनसके उत्तम। कर्मका प्रतीक विश्वकर्मालाई एक दिन दर्शन र पूजन मात्र गर्नु होइन तर जीवनभरि अनुसरण पनि गर्नुपर्दछ। काम कुनै पनि सानो हुँदैन। काम गरिखान लजाउनु हुँदैहुँदैन।