प्रहरीलाई ठक्कर दिएर भागेको स्कोरपिओभित्र भेटियो डेढ क्वीन्टल गाँजा

IMG-20240917-WA0172

भद्रपुर: विराटनगरमा सोमबार राति प्रहरीलाई ठक्कर दिएर भागेको स्कोरपिओ गाडीभित्र ठूलो परिणाममा लागुऔषध गाँजा भेटिएको छ।
लागुऔषध ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा विराटनगर महानगरपालिका–१७ मण्टापोखरीबाट को २ च ७५९ नम्बरको स्कोरपिओलाई प्रहरीले राति ८ः४५ बजेतिर नियन्त्रणमा लिने प्रयास गरेको थियो। प्रहरीले नियन्त्रणमा लिन खोज्दा लागुऔषध नियन्त्रण ब्युरो विराटनगरमा कार्यरत प्रहरी हवल्दार कैलाश खत्री दाहाललाई ठक्कर दिएर स्कोरपिओ भागेको हो।
ठक्करबाट सामान्य घाइते भएका उनलाई उपचारका लागि विराटनगरको कोशी अस्पतालमा भर्ना गरिएको थियो। प्रहरीलाई ठक्कर दिएर भागेको स्कोरपिओ लागुऔषध नियन्त्रण ब्युरो विराटनगर र इलाका प्रहरी कार्यालय रानीका इन्सपेक्टर प्रकाश थापा नेतृत्वको टोलीले संयुक्त टोलीले पछि नियन्त्रणमा लिएको थियो। गाडीभित्र करिब डेढ क्वीन्टल गाँजा फेला परेको छ।
नियन्त्रणमा लिएर खानतलासी गर्दा पछाडिको साइडमा ६ वटा बोराभित्र लुकाइछिपाइ राखिएको अवस्थामा १ सय ४६ किलोग्राम गाँजा बरामद भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए। उनका अनुसार प्रहरीलाई देखेपछि स्कोरपिओ तीव्र गतिमा भागेको थियो। त्यसक्रममा प्रहरीलाई ठक्कर दिएको हो।
स्कोरपिओभित्र गाँजा फेला परेपछि चालक सुनसरीको धरान उपमहानगरपालिका–४ १७ का ४५ वर्षीय सुक्षिम राई र स्कोरपिओमा सवार धरान–११ का ४६ वर्षीय देवराज राईलाई पक्राउ गरिएको जानकारी डीएसपी बस्नेतले दिए। उनका अनुसार नियन्त्रणमा लिएको स्कोरपिओ र बरामद भएको गाँजासहित दुवै जनालाई इलाका प्रहरी कार्यालय रानीमा राखिएको छ।

पक्राउ परेकाविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने प्रहरीको तयारी छ। यस विषयमा रानीका इन्सपेक्टर थापा नेतृत्वको टोलीले अनुसन्धानको थप प्रक्रिया अघि बढाउने छ। प्रहरीले सोमबार बिहान पनि विराटनगर महानगरपालिका–१५ स्थित २ नम्बर ढाटबाट ४३ किलोग्राम गाँजासहित बा ८ च ७८८० नम्बरको कारलाई नियन्त्रणमा लिएको थियो। कार चालक विराटनगर–१५ का ३२ वर्षीय गणेश चौधरी र कारमा सवार विराटनगर–१३ का २२ वर्षीय राजेश परियार पक्राउ परेका थिए। लागुऔषध गाँजा भारत कटाउने क्रममा प्रहरीले फेला पारेको हो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement