मिक्लाजुङको एक घरमा आगलागी हुँदा २० लाखको क्षति

IMG-20240917-WA0164

भद्रपुर: मोरङको मिक्लाजुङ गाउँपालिका–५ बेलटारस्थित कोही नभएको घरमा आगलागी भएको छ। आगलागीबाट २० लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार चन्द्रमणि खतिवडाको घरमा आगलागी भएको हो। खतिवडाको काठले बनेको र कर्कटपाताको छानो भएको २ तले घरमा धान कुट्ने मिलसमेत थियो।
आगोले घर र मिल पूर्णरूपले ध्वस्त भएको डीएसपी बस्नेतको भनाइ छ। घरभित्र रहेका सबै सामानसहित ९० हजार नगद, डेढ तोला सुन, ४० मन धान आगोले जलेको जानकारी उनले दिए।
प्रहरीका अनुसार घरमा चन्द्रमणिका कान्छो छोरा र बुहारी मात्रै बस्दै आएका थिए। छोरा सुवास २ दिनदेखि विराटनगरमा रहेको र बुहारी पनि माइती गएका बेला घरमा अचानक आगलागी भएको जानकारी प्रहरीले दिएको छ। आगलागीको कारण खुल्न सकेको छैन।
दमक, पथरीशनिश्चरे र उर्लाबारी नगरपालिकाबाट आएको दमल तथा स्थानीयको सहयोगमा प्रहरीले १ घण्टापछि आगो नियन्त्रणमा लिएको थियो। घटनामा मानवीय र चौपाया क्षति भने भएन। आगलागीमा २० लाख बराबरको क्षति भएको जानकारी बस्नेतले दिए।
‘घरमा कोही रहेनछन्। ताला लागेको घरमा कसरी आगलागी हुन पुग्योभन्ने यकिन छैन,’ उनी भन्छन्, ‘घटनाको अनुसन्धान सुरु गरिएको छ। अनुसन्धानपछि मात्रै सबै कुरा प्रष्ट हुन्छ।’ घरमा आगलागी भएको खबर सुनेपछि सुवास पनि पुगेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement