सर्वाधिक छक्का लगाउने म्याककुलमको रेकर्ड तोड़्ने नजिक युवा जयसवाल
नयाँ दिल्ली: बंग्लादेशविरुद्ध १९ सेप्टेम्बरदेखि चेन्नईको एमए चिदाम्बरम स्टेडियममा शुरु हुने टेस्ट सीरीजमा भारतका यशस्वी जयसवालले नयाँ वर्ल्ड रेकर्ड बनाउन सक्छन्। २२ वर्षीय जयसवाल टेस्ट क्रिकेटको एउटा क्यालेण्डर वर्षमा सर्वाधिक छक्का लगाउने न्यूजील्याण्डका ब्रेण्डन म्याककुलमको रेकर्ड तोड़्नदेखि केवल ८ छक्का पछि रहेका छन्। जुलाई २०२३-मा टेस्ट पदार्पण गर्ने जयसवालले चाँड़ै टीम इण्डियाको टेस्ट टीममा स्थान पक्का गरेका छन्। वेष्ट इण्डिजविरुद्ध टेस्ट पदार्पण गरेपछि यस युवा ओपनिंग ब्याटरले ईंग्ल्याण्डविरुद्ध घरेलु टेस्ट सीरीजमा रनको वर्षा गरेका थिए। अहिले उनको नजर बंग्लादेशविरुद्ध २ वटा टेस्ट म्याचको सीरीजमा रहेको छ। जयसवालले भारतको तर्फबाट अहिलेसम्म केवल ९ वटा टेस्ट म्याचमा ६८.५३-को औसतले १०२८ रन बनाइसकेका छन्। यसमा ३ वटा शतक र ४ वटा अर्द्धशतक बनाएका छन्। उनको नाममा एउटा दोहरो शतक पनि छ। ईंग्ल्याण्ड टेस्ट टीमका कप्तान बेन स्टोक्स एक समय म्याककुलमको रेकर्ड तोड़्ने नजिक पुगेका थिए तर उनले सफलता हासिल गर्न सकेका थिएनन्। यसपाली जयसवालसँग यस रेकर्डलाई तोड़्ने मौका रहनेछ कारण भारतीय टीमले आउँदो केही महिना टेस्ट क्रिकेट नै धेर खेल्नेछ।
जयसवालले साल २०२४-मा टेस्ट क्रिकेटमा २६ वटा छक्का लगाइसकेका छन्। यसरी उनले २०२२-मा बेन स्टोक्सले लगाएको छक्काको रेकर्डको बराबरी गरिसकेका छन्। यस साल भारतले अझ ९ वटा टेस्ट म्याच खेल्नु छ। यसैकारण जयसवालसँग रेकर्डलाई तोड़्ने सुनौलो मौका रहनेछ। म्याककुलमको नाममा एउटा क्यालेण्डर वर्षमा सर्वाधिक ३३ वटा छक्का लगाउने विश्व रेकर्ड रहेको छ। अब जयसवालले ८ वटा छक्का लगाउन सके नयाँ विश्व रेकर्ड बनाउनेछन्। भारतले दुईवटा टेस्ट म्याचको सीरीज समाप्त भएपछि बंग्लादेशविरुद्ध नै तीनवटा टी२० म्याचको सीरीज खेल्नेछ। त्यसपछि न्यूजील्याण्डविरुद्ध पनि टेस्ट सीरीज रहेको छ।