नाम्ची: विश्वकर्म कल्याण समिति (बीकेकेएस) ले राज्यस्तरीय भगवान विश्वकर्म पूजा समारोह समितिको संयुक्त तत्वावधानमा आज नाम्चीमा विश्वकर्म पूजाको निम्ति भजन गायन प्रतियोगिता आयोजन गऱ्यो।
कार्यक्रममा शहरी विकास विभाग मन्त्री भोजराज राई मुख्य अतिथि तथा विधायक मजन सिन्चुरी र सेवा निवृत्त सचिव शान्ता प्रधान विशिष्ट अतिथि थिए।
मुख्य अतिथि मन्त्री राईले समुदायलाई एक मञ्चमा ल्याउन पहल गरेकोमा कृतज्ञता प्रकट गरे। उनले विश्वकर्म समुदायलाई वर्तमानको प्रतिस्पर्धाको विश्वमा उत्कृष्टता हासिल गर्न निरन्तर अग्रसर बनिरहन प्रोत्साहित गरे। उनले विशेष रूपमा खेलकुद र मनोरञ्जनको क्षेत्रमा स्थानीय प्रतिभाहरूलाई महत्व दिनुपर्ने कुरामाथि बल दिए।
मन्त्री राईले लाइसेन्स नवीकरणबारे बोल्दै सही दस्तावेज उपलब्ध नरहेको खण्डमा लाइसेन्स नवीकरण नगर्ने बताए भने बाहिरकाहरूलाई लाइसेन्स लिजमा नदिन सावधान गराए। यस अतिरिक्त, उनले सरकारद्वारा प्रदान गरिएका विभिन्न सुविधाहरूको बारेमा जानकारी गराउॅंदै उक्त सुविधाहरूबाट फाइदा उठाउन आह्वान गरे।
उनले १७ सेप्टेम्बरदेखि २ अक्टोबरसम्म हुनलागि रहेको स्वच्छता ही सेवा अभियान २०२४मा सबैलाई सक्रिय रूपमा सहभागी बन्न आह्वान गरे। उनले जनसाधारणलाई यस पहलप्रति आफ्नो प्रतिबद्धता प्रकट गर्न अपील गरे।
जानकारी अनुसार, भजन गायन प्रतियोगितामा २९ जनाले भाग लिएका थिए। यस प्रतियोगितामा बुनु परियार प्रथम, आशिष सिन्चुरी दोस्रो, अन्जुली तामाङ तेस्रो र सलिना लोहार चौथो भइन्। विजयी कलाकारहरूलाई १७ सेप्टेम्बरको दिन आयोजना गरिने श्री श्री विश्वकर्म पूजा कार्यक्रममा सम्मानित गरिने बताइएको छ।