गान्तोक: भारतीय जनता पार्टी, सिक्किम प्रदेश एकाईको एउटा महत्वपूर्ण बैठक सम्पन्न भयो। गान्तोकस्थित पार्टी कार्यालयमा सम्पन्न आजको बैठकमा भाजपा केन्द्रिय पर्यवेक्षकको रूपमा विहार विधानपरिषद्का सदस्य डा. दिलीप जैश्वालको विशेष उपस्थिति रहेको थियो।
यसै गरी, बैठकमा प्रदेश अध्यक्ष डीबी चौहान, महासचिवद्वय भरत दुलाल, सुदीप प्रधान, पार्टीका विधायकगण साथै प्रदेश पदाधिकारीगण साथै कार्यसमितिका सदस्यहरूको बाक्लो उपस्थिति रहेको थियो। बैठक अघि प्रदेश अध्यक्षको बाहुलीबाट नयाँ कार्यालयको औपचारिक उद्घाटन गरियो।
आजको बैठकमा भाजपाको नीति-सिद्धान्त, कार्यक्रम अनि भ्रष्टाचारविरूद्ध पार्टीको “जिरो टलरेन्स” नीतिमाथि छलफल गर्दै प्रत्येक पार्टी कार्यकर्ताहरूले यसलाई नै मूलमन्त्रको रूपमा लिएर संगठनलाई अघि बढ़ाउनुपर्ने कुरामा जोड़ दिइयो। यसबीच राज्यका मुख्य सचिवमाथि लागेको तथाकथित भ्रष्टाचारको आरोपमाथि पनि गहन छलफल गरियो। यो मुद्दा सार्वजनिक मञ्चमा उठेको निकै समय बितिसकेको भएकोले राज्यको भिजिलेन्स डिपार्टमेन्टले चाँड़ोभन्दा चाँड़ो यस विषयलाई जनताअघि छर्लङ्ग पार्नुपर्ने भाजपा सिक्किमले माग गरेको छ।
बैठकमा पार्टीको सांगठनिक विषयमा कार्यकर्ताहरूले भोग्नुपरिरहेका समस्याहरूमाथि पनि गहन छलफल गरियो। बैठकमा केन्द्रिय पर्यवेक्षकको रूपमा उपस्थित डा. दिलीप जैश्वालले कार्यकर्ताहरूको विभिन्न गुनासोहरूलाई सुनेपछि पार्टीका राष्ट्रिय अध्यक्ष एवं केन्द्रिय नेतृत्व सिक्किम राज्यमा भारतीय जनता पार्टीको अवस्था र विधायकगण एवं कार्यकर्ताहरूले भोग्नुपरिरहेको समस्याहरूसँग पूर्णरूपले अवगत रहेको बताए।
उनले यस विषयलाई सम्बोधन गर्न राष्ट्रिय अध्यक्ष जेपी नड्डाले चाँड़ै भाजपा विधायकगण अनि प्रदेश नेतृत्वसित बैठक गर्ने जानकारी दिए। उनले भाजपा सरकार सिक्किमको धारा ३७१ एफलाई अक्षुण्ण राखेर राज्यको सर्वाङ्गीण विकासप्रति प्रतिबद्ध रहेको बताउँदै राज्यमा चलिरहेका तमाम विकासीय कार्यहरूमाथि कार्यकर्ताहरूले निगरानी राख्नुपर्ने विषयमा पनि जोड़ दिए। बैठकमा अन्य सांगठनिक तथा राजनैतिक विषयमा पनि छलफल तथा समीक्षा गरिएको जानकारी पार्टी प्रवक्ता डा. राजु गिरीले प्रेस विज्ञप्तिमा दिएका छन्।