
यादको चोइटाले जलाई दिन्छ यसरी
फर्किफर्कि समयले सताई दिन्छ यसरी।
म हुनुलाई पनि तिम्रै धडकन चाहिन्थ्यो
सपनामा त्यो रातले झस्काई दिन्छ यसरी।
अधरले अधरलाई पर्खेको मधुर क्षणहरू
सोच्दै मनैभरि आफै लजाई दिन्छ यसरी।
एउटै सिरानी एउटै सपना एउटै व्यथा थ्यो
ती कुराले आज किन सजाय दिन्छ यसरी।
कुन साइतले जुराएको हाम्रो यो सम्बन्ध
बालुवाको घर जस्तै बनाई दिन्छ यसरी।
जिन्दगीभर भाग्यलाई बुझ्नै गाह्रो भो
पीडा, न खुशी, न चैन भोगाई दिन्छ यसरी।
(लेखिका भारतीय नेपाली साहित्यको संसारमा सुपरिचित महिला कवि एवं गजलकार हुनुहुन्छ)