खरसाङ: गत १४ सेप्टेम्बरको दिन नेपालको बिर्तामोडमा भारतीय नेपाली नाटकका अग्रणी संस्था जागृति परिवारलाई साहित्य चौतारीले अन्तर्राष्ट्रिय सम्मानद्वारा सम्मानित गरेको छl ५० वर्षदेखि भारतीय नेपाली नाटकको क्षेत्रमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको कार्यलाई कदर गर्दै जागृति परिवारलाई यो सम्मान साहित्य चौतारीले आफ्नो रजत उत्सवको अवसरमा प्रदान गरेको होl बिर्तामोडमा भएको भव्य कार्यक्रममा साहित्य चौतारीका संस्थापक देवीभक्त श्रेष्ठको बाहुलीबाट अन्तर्राष्ट्रिय सम्मान जागृति परिवारका संस्थापक पूर्ण गुरुङ ‘निरुपम’, अध्यक्ष लक्ष्मण गुरुङ साथै अन्य पदाधिकारीहरूले ग्रहण गरेl यस अवसरमा साहित्य चौतारीका संस्थापकद्वय देवीभक्त श्रेष्ठ र उर्मिला बिमली श्रेष्ठ, सचिव/सह संस्थापक गौरव श्रेष्ठ, भारतका संयोजक मिरिक निवासी देवीलाल प्रधानलगायत सबै पदाधिकारीहरू र बिर्तामोडका विशिष्ट व्यक्तिहरू उपस्थित थिएl जागृति परिवारको पक्षबाट संस्थापक पूर्ण गुरुङ ‘निरुपम’, अध्यक्ष लक्ष्मण गुरुङ, उपाध्यक्षद्वय दावा लामा र सञ्जय प्रधान, कोषाध्यक्ष श्रीमती सबिता मंग्राती, कार्यकारी सदस्यहरू श्रीमती अरुणा सुन्दास, सुश्री सबिना परियार र सुश्री रचिता छेत्री उपस्थित थिएl यो सम्मानको निम्ति जागृति परिवारले साहित्य चौतारीप्रति आभार प्रकट गर्दै धन्यवाद जनाएको छl यसै कार्यक्रममा भारतीय नेपालीहरूको सबैभन्दा जेठो संस्था गोर्खा जन पुस्तकालय र गोर्खा संस्कृतिक संस्थानलाई पनि अन्तर्राष्ट्रिय सम्मानले सम्मानित गरिएको छl सो दिन साहित्य चौतारीले भारतका २१ वटा अग्रणी नेपाली संस्थाहरूलाई सम्मान जनाएको छl साहित्य चौतारीले भारतमा नेपाली भाषा-साहित्य, कला, संस्कृतिको क्षेत्रमा सक्रिय कार्य गर्दै आइरहेका संस्थाहरूलाई सम्मान जनाउने कार्य गर्दै आइरहेको छl