राजगञ्ज: विश्व पैगम्बर दिवसको अवसरमा राजगञ्जको बन्धुनगरमा रक्तदान शिविर आयोजित गरियाे। इस्लाम धर्ममा ईद मिलाद-उन-नबीको पर्व पैगम्बर हजरत मोहम्मदको जन्मदिनको रूपमा मनाइन्छ। आज पैगम्बर दिवस वा हजरत मोहम्मदको जन्मदिन विभिन्न ठाउँमा मनाइँदैछ। मुस्लिम धर्मावलम्बीहरूले यो दिवसलाई पूर्ण सम्मानका साथ मनाउने गर्छन्। यसै अन्तर्गत बन्धुनगर राजगञ्जको ३६ जमद जुलुस समितिको पहलमा आज यो रक्तदान शिविरकाे आयोजना गरिएको हो। यो शिविर जरिना फाउन्डेसन, लायन्स क्लब अफ सिलगढी तराई शक्ति र महाराजा अग्रसेन ब्लड बैंकको सहकार्यमा आयोजना गरिएको हो। यस शिविरमा २५० युनिट रक्तदान गर्ने लक्ष्य राखिएको छ। साथै शिविरमा रहेका सबैलाई बिरुवा समेत वितरण गरिएको थियो। यस क्रममा राजगञ्ज विधायक खगेश्वर राय, बिन्नागुरी ग्राम पञ्चायत अध्यक्ष समिजुद्दीन अहमद, पञ्चायत सदस्य जाकेर हुसेन, अहिदर रहमान, काहिनुर इस्लाम र अन्य उपस्थित थिए।